Market Closed

लाभांश घोषणाका नाममा लगानीकर्ता लुट्ने प्रपञ्च, के छ रोक्ने उपाय ?

04 Nov,2018
  • announcement-_11_4_2018_8_16_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारमा सूचीकृत कम्पनीका सञ्चालकहरुको गैर जिम्मेवारीपूर्ण निर्णयले लगानीकर्ताको सम्पति जोखिममा पर्ने गरेको छ । पछिल्लो समय लाभांशका विषयमा कम्पनी सञ्चालक समितिले सुरुमा एउटा निर्णय लिने र पछि फेरि विभिन्न बाहना बनाउँदै त्यसलाई सच्याइएको भन्दै पूर्वनिर्णयबाट हट्ने प्रवृत्ति बढेको छ । जसको प्रत्यक्ष मारमा लगानीकर्ता पर्दै आएका छन् । अर्कोतर्फ कतिपय अवस्थामा कम्पनीले घोषणा गरेको लाभांश नियामक निकायले स्वीकृत नगर्दा पनि लगानीकर्ताको सम्पति जोखिममा पर्ने गरेको छ । हेरौं केही यस्ता घटना । जसबाट लगानीकर्ताले करोडौं गुमाउनु परिरहेको छ । 
 
सञ्चालकको लापरवाही, मारमा लगानीकर्ता 
 
सेयर भाउसँग सम्बन्धित कुनै पनि संवेदनशील सूचना वा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । यस्ता निर्णय लाभांश, हकप्रद सेयर लगायत लगानीकर्ताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुन्छ । विशेषगरी लाभांश सम्बन्धी निर्णयले बजारमा प्रत्यक्ष असर गर्ने गरेको छ । सञ्चालकको निर्णय सार्वजनिक हुने बित्तिकै सम्बन्धित कम्पनीको सेयर भाउ तल माथि हुने गर्छ ।
 
उदाहरणको रुपमा स्वदेशी लघुवित्तको १०% नगद लाभांश प्रस्तावलाई नै हेरौं । सुरुमा यो कम्पनीले १०% नगद लाभांश दिने घोषणा गरेपनि केही दिनपछि उक्त निर्णय रद्द गरेको थियो । प्रविधिक त्रुटि देखाई लाभांश प्रस्ताव रद्द गरियो । जसको प्रत्यक्ष असर सेयर बजारमा पर्यो । कम्पनीको भाउ घट्यो । लगानीकर्ता आफ्नो सम्पति गुमाए । यहाँ पनि लगानीकर्ता सञ्चालकहरुको गैरजिम्मेवारपूर्ण निर्णयको प्रत्यक्ष सिकार भए । 
 
विगतमा र अहिले पनि यस्ता घटना बारम्बार दोहोरिरहेको छ । गत वर्ष संस्थागत सुशासन उत्कृष्ट र राम्रो मानिएको नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तै त्रुटिले लगानीकर्ताको सम्पतिमा असर परेको थियो । बैंकले गत वर्ष लगानीकर्तालाई २५% बोनस र १५% नगद लाभांश दिने भनेर नेप्सेको साइटमार्फत सूचना जारी गर्याे । तर त्यसको केही बेरपछि नै नेप्सेबाट टाइप मिस्टेक भन्दै सूचना हटाइयो ।

पछि सच्याएर १५% बोनस र २५% नगद लाभांश भनेर पुनः सूचना जारी गरियो । छोटो समयमै यसको प्रत्यक्ष असर सेयर भाउमा परेको थियो । माथि उल्लेखित घटना सञ्चालकको चरम लापरवाहीका केही प्रतिनिधि उदाहरण हुन् । यसबाहेक सञ्चालकको निर्णयलाई नियामकले स्वीकृति नदिँदा पनि लगानीकर्ता डुबेका पनि थुप्रै उदाहरण छन् । 
 
सञ्चालकको निर्णयमा नियामकको असहमति, फेरि पनि मारमा लगानीकर्ता नै
 
अर्कोतर्फ सञ्चालकको निर्णय नियामक निकायले अनुमोदन गर्छ नै भन्ने छैन । कम्पनीले प्रस्ताव गरेको लाभांशलाई स्वीकृति नदिएको खण्डमा पूर्वघोषित लाभांशको आशामा सेयर किनेका लगानीकर्ता स्वतः घाटा जाने सम्भावना रहन्छ । जस्तोः आइतबारकै घटनालाई हेरौं । लाइफ इन्सुरेन्स कर्पोरेसनले करिब ३ महिना अघि नै लगानीकर्तालाई आर्थिक वर्ष २०७३–७४ को नाफाबाट ३६% बोनस सेयर दिने बताएको थियो ।

यसको आशमा लगानीकर्ताले महँगो भाउमा सेयर किने । तर अहिले आएर नियामक बिमा समितिले स्वीकृति नदिएको भन्दै कम्पनीले ३ गुणाले लाभांश अनुपात घटाएर १२% मात्र दिने सूचना सार्वजनिक गर्यो । यो सूचना आउने बित्तिकै बजारमा यस कम्पनीको भाउ ५.६३% ले घटेको छ । 
 
यसअघिको लाभांश प्रस्ताव नियामक निकायले स्वीकृत नगरेकाले घटाउनु परेको कम्पनीको दाबी छ । यता, नियामक निकायले भने लाइफ इन्सुरेन्स कर्पोरेसनले वित्तीय विवरण तथा लाभांश घोषणामै बदमासी गरेको बताएको छ । 
 
यता, युनाइटेड इन्सुरेन्सको १००% र २४०% हकप्रद, राष्ट्रिय बिमा कम्पनीको १२०% बोनस, एभरेष्ट इन्सुरेन्सको ६००% हकप्रद पनि यस्तै अन्य केही प्रतिनिधि घटनाहरु छन् । विगतमा युनाइटेड इन्सुरेन्सले घोषणा गरेको १००% हकप्रद बिमा समितिले अस्वीकृत गरेको थियो । त्यसको केही महिनापछि कम्पनीले फेरि २४०% हकप्रद सेयर निष्कासन गर्ने भनेर नेप्से मार्फत सूचना सार्वजनिक गर्यो । हकप्रदको सूचना बाहिर आएपछि बजार भाउमा असर नपर्ने कुरै भएन ।

लगानीकर्ताको ध्यान पनि हकप्रदतर्फ नै तानियो । तर पछि साधारण सभा बोलाउँदा कम्पनीले हकप्रद सम्बन्धी कुनै एजेन्डा राखेन । यसरी एउटै कम्पनीको एउटै निर्णयमा २ पटकसम्म लगानीकर्ता फसे । तर यस्ता बदमासी भइरहँदा पनि न नियामकले केही कारवाही गर्यो, न त लगानीकर्ताका संघसंगठनले कुनै आवाज उठाए । फसे त केबल सोझासाझा लगानीकर्ता । 
 
केही समय अघि राष्ट्रिय बिमा कम्पनीको साधारण सभामा हात हालाहालको स्थिति उत्पन्न भएको घटना पनि बाहिर आयो । कम्पनीले १२०% बोनस सेयर दिने घोषणा गरे पनि साधारण सभामा उक्त एजेन्डा राखिएन । सभामा एजेन्डा नराखिएपछि लगानीकर्ताले लाभांश पाउने कुरो पनि भएन । यही बोनस सेयरको लोभमा निकै महँगो मूल्य तिरेर दोस्रो बजारबाट सेयर किन्नेहरु यस कम्पनीमा पनि नराम्री घाटा खाने अवस्थामा पुगे । 
 
कसरी गर्ने समस्याको समाधान ?
 
एउटै विषयमा पटकपटक र धेरै लामो समयदेखि लागानीकर्ताको सम्पति स्वाहा हुँदा पनि सरोकारवाला निकाय मौन छन् । सेयर बजारसँग सम्बन्धित अति नै संवेदनशील विषय भए पनि समस्या समाधान गर्नेतर्फ कोही पनि अग्रसर नभएको देखिन्छ । 
 
कुनै पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सुरुमा नियामक निकायबाट स्वीकृत नभई सूचना सार्वजनिक नगर्नु नै यो समस्याको उत्तम समाधान हो । अहिले आम लगानीकर्ताले पनि यही माग गरिरहेका छन् । सञ्चालक समितिको लाभांश दिने निर्णयलाई पहिला नियामक निकाय र त्यसपछि वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि मात्र कार्यान्वयन गर्ने व्यवस्था छ ।

तर कम्पनीहरुले लाभांश दिने प्रस्ताव भने सबैभन्दा पहिला नेप्सेमार्फत सार्वजनिक गर्छन् । लगानीकर्ताले यही सूचनालाई आधार बनाएर सेयर कारोबार गरिहाल्छन् । तर पछि नियामकले यसलाई अस्वीकृत गर्ने वा कम्पनीले नै पछि विभिन्न बाहना बनाएर पूर्वनिर्णय बदल्ने गरेका छन् । 
 
कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकायले अनुमति दिएपछि मात्र सूचना सार्वजनिक भएको खण्डमा आम लगानीकर्तालाई कम क्षति देखिन्छ । सूचना जारी गर्ने बाहनामा लगानीकर्तालाई मारमा पार्नु भन्दा नियामक निकायबाट अनुमति पाएपछि मात्र सूचना जारी पर्ने प्रणाली विकास गर्नुपर्ने लगानीकर्ताहरुको भनाई छ । 
 
लगानीकर्ता एवं विश्लेषक दिलिप मुननकर्मी लाभांश घोषणा गर्ने र पछि विभिन्न बाहना देखाएर पन्छिने प्रवृृत्तिले लगानीकर्ताको सम्पति स्वाहा भइरहेकाले तत्काल यसमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । ‘नियामक निकायले अनुमोदन गरेपछि मात्र लाभांश वितरण सूचना आम लगानीकर्तामा सार्वजनिक गर्ने प्रावधान तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने । 
 
यता, बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल सबै कम्पनी आफ्ना लगानीकर्ताप्रति उत्तरदायी हुनुपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘सूचना नै बाहिर आए पनि मागे बमोजिमको कागजात पेश गर्ने हो भने नियामक निकायले कुनै पनि हालतमा रोक्न मिल्दैन, कागजात पूरा नगर्ने अनि नियामक निकायले रोक्यो भनेर आरोप लगाउन नपाइने उनको भनाई छ । कम्पनीहरु नै जिम्मेवार नहुँदा लगानीकर्ता प्रत्यक्ष मारमा पर्ने गरेको उनले बताए । यस्ता विषयले इन्साइडर ट्रेडिङको खतरा पनि उत्तिकै बढिरहेको छ । 
 
 

Post Your Comment