‘बैंकलाई ब्रोकर लाइसेन्स दिंदा इन्साइडर ट्रेडिङको खतरा’ ( भरत रानाभाटसँग भिडियो वार्ता)

22 Nov,2018
  • rana_11_22_2018_8_18_29.jpg
नेपाली पैसा
 
काठमाडौं : अनलाइन प्रणाली आइसकेपछि बैंकलाई ब्रोकर लाइसेन्स दिइराख्नु आवश्यक नभएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताएका छन् । अनलाइन नहुँदा सबै जिल्लाका लगानीकर्तामा पहुँच पुर्याउन बैंकले ब्रोकर कम्पनी खोल्नु स्वाभाविक नै देखिए पनि अबको अवस्थामा त्यो आवश्यकता नरहेको रानाभाटले दाबी गरेका हुन् । अहिले भएका ब्रोकरहरु र बैंकले सहायक कम्पनीमार्फत दिने ब्रोकर सेवाको स्तर र हैसियत एकै किसिमको हुने पनि उनले बताए ।
 
नेपाली पैसा भिडियो अन्तर्वार्तामा बोल्दै उनले बैंकले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्दा इन्साइडर ट्रेडिङको सम्भावना झन् बढ्ने रानाभाटको तर्क छ । अध्यक्ष रानाभाटले भने, ‘बैंकका प्रमोटर भनेका नेप्सेमा सूचीकृत करिब ७५% हिस्सा ओगट्ने कम्पनीकै प्रमोटर हन् । सबैभन्दा पहिला बोर्ड बैठक बसेर निर्णय पनि उनीहरुले नै गर्छन् । पुँजी बजारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लगानी भएका व्यक्तिहरु पनि उनीहरु नै हुन् । अनि, उनीहरु (बैंक) ब्रोकर भए भने कस्तो असर पर्ला ?’ उनले प्रश्न गरे ।
 
अन्तर्राष्ट्रिय बजारमा इन्साइडर ट्रेडिङलाई जघन्य अपराधको रुपमा लिइन्छ । तर नेपालमा भने जहाँ इन्साइडर ट्रेडिङ हुने सम्भावना धेरै छ, त्यसैलाई नै बढावा दिन चाहिरहेको जस्तो देखिएको पनि रानाभाटको भनाई छ । अध्यक्ष रानाभाटले भने, ‘जसले यहाँ बैंक तथा बिमा कम्पनीहरु खोलिरहेका छन् अनि सहायक कम्पनीका रुपमा माइक्रोफाइनान्स र मर्चेन्ट बैंक खोलिरहेका छन्, तिनै व्यक्ति तथा संस्थाको हातमा ब्रोकर लाइसेन्स पनि पुग्ने भयो ।’
 
ब्रोकर कम्पनी थप्न हुँदैन भन्न खोजिएको पनि होइन । ५० वटै ब्रोकर कम्पनी पर्याप्त हो कि होइन अध्ययन गर्नुपर्छ । आवश्यक छ भने ब्रोकरको संख्या थप्न सकिन्छ । अहिले भइरहेकै ब्रोकरहरुलाई व्यवस्थित गर्न सके पनि राम्रो हुने उनको भनाई छ ।
 
वाणिज्य बैंकहरुले मात्रै सबै काम गर्न सक्छन् भन्न थाल्यो भने भोली अरु क्षेत्रले प्रगाति गर्न नसक्ने उनले बताए । पहिला धेरै बैंक तथा फइनान्सलाई लाइसेन्स दिएर अहिले घटाउन समस्या भए जस्तै पछि ब्रकिङ व्यवसायमा पनि यस्तो नहोस् भनेर सचेत हुनुपर्नेमा रानाभाटले जोड दिएका छन् ।
 
यता, अनलाइन प्रणालीले नेपालको पुँजी बजारलाई नयाँ युगमा पुर्याएको अध्यक्ष रानाभाटको भनाई छ । अनलाइन प्रणालीमा देखिएका समस्याहरु पनि विस्तारै समाधान हुँनै गइरहेको उनले बताए । अनलाइनलाई सफल बनाउन ब्रोकर एसोसिएसनले पनि सहयोग गरिरहेको उनको बुझाई छ ।
                                            हेर्नुहोस् भिडियो वार्ता 
 

Post Your Comment