नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने धितोपत्र बोर्डको निर्णय, अब स्थानीय तहमै ब्रोकर कार्यालय

03 Dec,2018
  • sebon_img_12_3_2018_4_57_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर ब्रोकरलाई लाइसेन्स दिने निर्णय गरेको छ । मुलुक संघीय संरचनामा प्रवेश गरिसकेकाले काठमाडौं उपत्यका बाहिर पनि क्रमशः आर्थिक क्रियाकलाप विस्तार भइरहेको छ । हाल देशका ७७ वटै जिल्लामा सेयरको प्राथमिक बजारको पहुँच पनि पुगेको छ ।

यही परिप्रेक्ष्यमा बोर्डले स्थानीय तहमा ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरेको हो । तर काठमाडौं उपत्कामा भने नयाँ ब्रोकर लाइसेन्स खुला हुनेछैन । अब आवश्यकता अनुसार प्रत्येक जिल्लामा ब्रोकर कार्यालय खुल्न सक्ने देखिएको छ । 
 
बोर्डले राजधानी बाहिर ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था अघि बढाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन समेत दिएको छ । नेप्सेले नयाँ ब्रोकरको परीक्षा लिएर छनोटमा परेका कम्पनीलाई अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाउनुपर्ने प्रावधान रहेको छ । 
 
धितोपत्र बोर्डले चालु आर्थिक बर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारको पहुंच विस्तार गर्ने योजना राखेको थियो । बोर्डले धितोपत्र बजार मार्फत् स्थानीय स्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन उपत्यका बाहिर धितोपत्र दलाल सेवा संचालन अनुमति दिन लागिएको  बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
 
प्राथमिक बजारसंगै धितोपत्रको दोस्रो बजारलाई सोही अनुरुप प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न आवश्यक देखिएको छ । संघीय संरचना अनुसार विभिन्न प्रदेशहरु आर्थिक रुपमा सक्रिय रहेकाले त्यस्ता ठाँउमा ब्रोकर व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक भएको हो । 

 
 

Post Your Comment