मार्जिन कारोबार सुरु गर्न ब्रोकरले अब सीधै आवेदन दिन सक्ने

05 Feb,2019
  • margin_img_2_5_2019_8_28_21.jpg
इशारा कोइराला
 
काठमाडौं : मार्जिन कारोबार लागि ब्रोकर कम्पनीहरुले अब सीधै नेप्सेमा आवेदन दिन सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर मार्फत मार्जिन कारोबार सुरु गर्न नेप्सेलाई निर्देशन दिएसँगै ब्रोकरहरुलाई स्वतः आवेदन दिने बाटो खुलेको हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ को प्रावधान अनुसार ब्रोकरहरुले अब सीधै नेप्सेमा आवेदन दिन सक्नेछन् । कानुनी हिसाबले अब नेप्सेले ब्रोकरलाई परिपत्र गरिरहनु आवश्यक छैन ।

तर व्यवहारिक हिसाबले कारोबार सुरु गर्नका लागि नेप्सेले परिपत्र गर्न समस्या भने पर्ने छैन । ब्रोकर कम्पनीहरुले नेप्सेमा निवेदन दिएपछि मार्जिन कारोबार प्रक्रिया अघि बढ्ने प्रवक्ता पराजुलीले नेपाली पैसालाई जानकारी दिए । उनले भने, ‘मार्जिन कारोबार सम्बन्धी निर्देशनमा ब्रोकरहरुले नेप्सेमा आवेदन दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम आवेदन खुला भइसकेको भए पनि अहिलेसम्म कुनै ब्रोकर कम्पनीले कारोबार अनुमतिका लागि नेप्सेमा निवेदन दिएका छैनन् ।’

सैद्धान्तिक रुपमा धितोपत्र बोर्डको निर्देशनसँगै ब्रोकरलाई आवेदन गर्न बाटो खुला भइसकेको छ । तर ब्रोकर कम्पनीहरुलाई दुविधा भएमा नेप्सेले पत्राचार गरी आवेदन खुला भएको जानकारी गराउन पनि सक्ने पराजुलीले बताए । मार्जिन कारोबार अनुमतिका लागि ५ करोड रुपैयाँ नटवर्थ पुगेको लेखापरीक्षणको कागजसहित निवेदन दिनुपर्ने प्रवक्ता पराजुलीले बताए ।

धितोपत्र बोर्डले मार्जिन कारोबार पक्रिया अगाडि बढाउन शुक्रबार नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले बनाएको ‘मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४’ मा ब्रोकर व्यवसायीहरुले मार्जिन कारोबार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरणसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।
 
यता, ब्रोकरहरु भने नेप्सेले निर्देशन जारी गरेपछि मात्रै प्रक्रिया अघि बढाउने भन्दै बसिरहेका छन् । ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट नेप्सेले मार्जिन कारोबार गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिनुपर्ने बताउँछन् । अनि मात्रै ब्रोकर कम्पनी आवश्यक कागजात लिएर नेप्से जाने हो,’ उनले भने । 
 
राष्ट्र बैंकको अब थप स्वीकृति नचाहिने 
 
मार्जिन कारोबार गर्नका लागि ब्रोकरहरुले अब राष्ट्र बैंकको अनुमति लिनु नपर्ने भएको छ । यसअघि मार्जिन कारोबार सम्बन्धी केही विषयहरु राष्ट्र बैंकसँग पनि सम्बन्धित देखिएको भन्दै कार्यान्वयनमा ल्याउन विलम्ब गरिएको थियो । ब्रोकरले मार्जिन सेवा प्रदान गर्दा सेवाग्राहीबाट सेवा शुल्क कति लिने ? ब्रोकर कम्पनीले राष्ट्र बैंकबाट स्वीकृति लिने कि नलिने ? लगायत विषयहरु टुंगोमा पुग्न सकेको थिएन ।

तर अहिले मार्जिन कारोबार सम्बन्धी सम्पूर्ण जिम्मा बोर्डलाई दिइएको राष्ट्र बैंकका साहयक प्रवक्ता गोविन्द नागिलाले बताएका छन् । अब ब्रोकरहरुले मार्जिन कारोबारका लागि राष्ट्र बैंकको स्वीकृति लिइरहनु पर्दैन । बोर्डले ब्याजदर लगायत विषयमा पनि टुंगो लगाएर कार्यविधि कार्यान्वयनमा ल्याएको छ । मार्जिन ट्रेडिङका लागि ब्याजदर ब्रोकर र लगानीकर्ताबीचको आपसी सहमतिबाट ब्याजदर तय हुने व्यवस्था गरिएको छ । 
 

Post Your Comment