सेयर लगानीकर्ताले फेरि राखे यस्तो नयाँ माग, होला त पूरा ?

06 Feb,2019
  • chiranjibi_2_6_2019_6_22_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकलाई व्यवसायीहरुले पुनर्कर्जा घटाउनेदेखि सेयर धितोमा ८०% सम्म ऋण दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षालाई लक्षित गरी राखेको सुझाव संकलन कार्यक्रममा बोल्दै उद्योगी व्यवसायी तथा सेयर लगानीकर्ताले यस्तो सुझाव दिएका हुन् ।

सुझाव दिने अधिकांश व्यवसायीले राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल समक्ष ब्याजदर घटाई स्थायित्व कायम गर्नुपर्नेमा जोड दिए । ब्याजदर बजारले निर्धारण गर्ने वातावरण सिर्जना गर्न समेत उनीहरुले माग गरेका छन् । 
 
लगानीकर्ता तथा व्यवसायीले राष्ट्र बैंकलाई दिएका सुझाव
 
४०% बाट १००% र ६५% को व्यवस्थालाई बढाएर ८०% पुर्याउनुपर्छ : फुल्लेल
 
सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले सेयर बजारमा बैंकहरुले प्राथमिक पुँजीको ४०% लगानी गर्न पाउने व्यवस्थालाई बढाएर १००% नै पुर्याउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । साथै, उनले सेयर धितो कर्जाको सीमा  ६५% बढाएर ८०% सम्म ऋण दिने व्यवस्था मिलाउन पनि माग गरे ।

सेयर बजार निरन्तर घटेपछि लगानीकर्ताको नयाँ माग थपिएको हो । केही समय अघि मात्रै केन्द्रीय बैंकले ५०% को यस्तो सीमा बढाएर ६५% पुर्याएको थियो । यसबाट पनि सेयर बजारमा सुधार देखिएको छैन । प्राथमिक पुँजीको शतप्रतिशत नै लगानी गर्न पाउने व्यवस्था गरेमा सेयर बजार सुधार हुने उनको भनाई छ । 
 
पुनर्कर्जा ९% बाट ७% मा झार्नु पर्छ : शर्मा
 
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पुनर्कर्जा ९% बाट ७% मा झार्न सुझाव दिएका छन् । ‘अहिलेको पुनर्कर्जा दर महँगो भयो यसलाई २% ले घटाउनुपर्छ ।’ साथै, उनले उत्पादनमूलक र सेवा क्षेत्रका उद्योग धन्दालाई राष्ट्र बैंकले छुट्याएको कोष सहज रुपमा उपलव्ध गराउन पनि सुझाव दिएका छन् ।

‘तीन वर्ष अघि १ सय अर्बको कोष बनाउने भनिएको थियो । हालसम्म उक्त कोष ३०–३५ अर्बको मात्रै भएको छ । यसलाई राष्ट्र बैंकले बढाउनुपर्छ ।’ साथै, उनले एक वर्षका लागि उक्त कोषको रकम व्यवसायीलाई उपलब्ध गराउनुपर्नेमा पनि जोड दिएका छन् । 
 
बैंकहरुले ऋण दिने प्रक्रिया र फरम्याट एकै किसिमको बनाउनुपर्छ : गोल्छा
 
यता, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले ऋण दिँदा अपनाउने प्रक्रिया तथा कागजपत्रको फरम्याट सबै बैंकको एकै किसिमको बनाउन सुझाव दिएका छन् । उनले भने, ‘हरेक बैंकले ऋण दिँदा लिने कागजपत्र र प्रक्रिया फरकफरक छन् । जसका कारण ऋण लिन समस्या भएको छ ।

न्यूनतम फरम्याट र तरिका एकै किसिमको बनाउन राष्ट्र बैंकले पहल गर्नुपर्छ । उनले अहिले चर्को ब्याजदर र तरलता अभावका कारण अर्थतन्त्रमा समस्या देखिएकाले यसको अन्त्य नभएसम्म सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने पनि उनले बताए । 
 
ब्याजदर बजारले निर्धारण गर्ने वातावरण सिर्जना गर्नुपर्छ : ढुंगाना
 
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बजारले नै ब्याजदर निर्धारण गर्न सक्ने वातावरण तय गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । उने भने, ‘यसले बजारमा प्रशस्त मात्रामा तरलता ल्याउँछ र स्वतः ब्याजदर घट्छ । यसले उत्पादन लागत पनि घटाउछ ।’ उनले सीसीडी रेसियोको अहिलेको सीमाका कारण धेरै रकम संचित भएर बसेको बताए ।

यसरी थन्किएको रकम बजारमा ल्याउन उनले राष्ट्र बैंकसँग आग्रह गरेका हुन् । अध्यक्ष ढुंगानाले भने, ‘अहिले सीसीडीका कारण थन्किएको करिब १ सय ५० अर्ब रकम बाहिर ल्याउन सकियो भने छोटो समयका लागि भए पनि तरलता अभाव घट्छ ।’ उनले दीर्घकालीन रुपमा तरलता अभाव घटाउन पुनर्कर्जामा जोड दिनुपर्ने समेत बताए । 
 

Post Your Comment