Market Closed

फर्कियो पुँजी बजारको चमक, धितोपत्र बोर्ड प्यानमा लचक बनेपछि लगानीकर्ता उत्साहित

14 Mar,2019
  • bull_bear_m_3_14_2019_3_17_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारको चमक फेरि फर्किएको छ । बुधबार एकाएक घटेको बजार बिहीबार पुनः सुध्रिएको हो । सूचकसँगै कारोबार रकममा समेत तेजी आएको छ । हुन त कारोबार रकममा राम्रो सुधार हुनुमा नेसनल लाइफ इन्सुरेन्सको संस्थापक सेयरको बढी भूमिका देखिन्छ । धितोपत्र बोर्डले प्यानमा लचकता अपनाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित भएको देखिन्छ ।

यसअघि वैशाख १ गतेदेखि सेयर खरिदमा प्यान अनिवार्य गर्ने निर्णय गरेको बोर्डले यसमा संशोधन गर्दै ५ लाख वा त्यसभन्दा माथिको कारोबारमा मात्र प्यान अनिवार्य हुने निर्णय गरेपछि लगानीकर्ता आकर्षित भएको अनुमान छ । यसले साना लगानीकर्तालाई थप सहज भएको विश्लेषण गरिएको छ ।

प्यानका बारेमा राम्रो सँग नबुझेका र यसलाई झन्झटका रुपमा लिएका लगानीकर्तालाई पनि यो निर्णयले सहज हुने देखिएको छ । धितोपत्र बोर्डको यो निर्णयसँगै अब प्यान सम्बन्धी विवाद पनि साम्य हुने देखिएको छ । यसैको प्रतिक्रिया बिहीबार बजारले देखाएको एकाथरीको भनाई छ । 
 
पछिल्लो समय हाम्रो पुँजी बजार निकै अस्थिर छ । सानातिना विषय बस्तुले पनि बजारलाई प्रभावित बनाउँदै आएको छ । बजार सुधारका कतिपय कार्यक्रमलाई पनि नकारात्मक हिसाबले व्याख्या र प्रस्तुतीकरण गरिंदा त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिने गरेको हो ।

अनुभवीहरुका अनुसार सेयर बजारम बैंक ब्याजदर र अधिक आपूर्ति नै प्रमुख समस्या हुन् । अन्य विषय त सहायक मात्र हुन् । ब्याजदर घट्ने, अधिक आपूर्तिको समस्या निराकरण हुने अनि सूचीकृत कम्पनीहरुको प्रतिसेयर आम्दानी, रिजर्भ र नेटवर्थमा सुधार हुने बित्तिकै बजारको माथि जाने गतिले फेरि रफ्तार लिनेछ ।

सेयर बजार चक्रीय प्रणालीमा हिँड्ने गर्छ । जसको प्रभाव पनि बजारमा पर्ने गर्छ । यतिबेला बजार बियरिस मार्गमा छ । यसको समाप्ति भएपछि नेप्सेको उकालो यात्रा कसैले रोक्न सक्दैन ।
सेयर बजारको दिगो र फराकिलो सुधारका लागि नयाँ लगानीकर्ताको प्रवेश, गैरआवासीय नेपालीलाई पुँजी बजारमा प्रत्यक्ष लगानीको व्यवस्था, लगानीकर्ताको सकारात्मक मनोविज्ञान जरुरी हुन्छ । घटबढ बजारको नियम हो । घटेपछि बढ्ने र बढेको बजार घट्न पनि सक्नेतर्फ लगानीकर्ता सधैं सचेत हुनुपर्छ । 
 
नेप्से सूचक बिहीबार ५.४० अंकले बढेर ११५५.५० विन्दुमा पुगेको छ । बजार ०.४७% ले माथि लागेको हो । १७१ कम्पनीको ४८ करोड ५८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १३ लाख ३९ हजार ९७२ कित्ता सेयर खरिदबिक्री भएका छन् । 


 
कुल १० वटा समूहको सेयर कारोबार भएकामा उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । होटेल समूह सबैभन्दा धेरै ४०.०९ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ४.५९ अंकले माथि लागेको छ । 
 
कारोबार रकममा नेसनल लाइफ इन्सुरेन्सको संस्थापक सेयरले अग्रता लिएको छ । यसको २१ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनसीसी बैंक र नेसनल लाइफ इन्सुरेन्स (साधारण) रहेका छन् । 
 
            कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

 

Post Your Comment