Market Closed

मार्जिन कारोबारमा फेरि पनि विलम्ब, ब्रोकर र नेप्सेबीच अझै जुहारी

12 May,2019
  • margin-trading-img_5_12_2019_7_19_40.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपाल स्टक एक्चेञ्ज (नेप्से) र धितोपत्र दलाल कम्पनी (ब्रोकर) बीच जुहारी चल्ने श्रंखला जारी रहँदा सेयर लगानीकर्ता मार्जिन कारोबार गर्न बञ्चित भइरहेका छन् । मार्जिन कारोबार सुविधाका लागि ३ ब्रोकर कम्पनीले नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाइसकेका छन् । तर नेप्से र ब्रोकर कम्पनीहरुबीच कारोबार सञ्चालनका लागि कसले पहिला जानकारी गराउने भन्ने टुंगो नलाग्दा लगानीकर्ताले अहिलेसम्म लगानीकर्ताले यो सुविधा उपभोग गर्न  भने पाएका छैनन् ।
 
नेप्सेका अनुसार केन्द्रीय बैंकबाट स्वीकृति पाइसकेपछि कारोबार सञ्चालनका लागि जानकारी दिन ब्रोकर कम्पनीहरु नेप्सेमा नआएकाले ढिलाई भएको छ । तर ब्रोकरहरु भने कारोबार थाल्नका लागि नेप्सेले नै आफूहरुलाई जानकारी गराउनुपर्ने बताउँछन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘अन्तिम तयारी पूरा गरेर कारोबार थाल्नुअघि ब्रोकर कम्पनीहरुले नेप्सेलाई जानकारी दिनुपर्छ । तर अहिलेसम्म उनीहरुले कारोबार सुरु गर्नका लागि जानकारी दिएका छैनन् ।’
 
यता, राष्ट्र बैंकबाट कारोबारका लागि सबैभन्दा पहिला स्वीकृति पाएको क्रिष्टल कञ्चनजंगा सेक्युरिटिजका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले भने नेप्सेमा एकपटक आवेदन दिएपछि कारोबार सुरु गर्नका लागि उसले नै अन्तिम स्वीकृति दिनुपर्ने बताएका छन् । उनले भने, ‘ब्रोकर कम्पनीहरुले सम्पूर्ण कागज दिएर स्वीकृति पाइसकेपछि कारोबार सुरु गर्नका लागि नेप्सेले भन्नुपर्ने हो । तर, अहिलेसम्म पनि नेप्सेले खबर नगर्दा यो सेवा सुरु गर्न ढिलाई भइरहेको छ ।’
 
अहिलेसम्म नेप्सेमा मार्जिन कारोबारका लागि १७ वटा ब्रोकर कम्पनीले आवेदन दिएका छन् । जसमा ३ ब्रोकर कम्पनीलाई राष्ट्र बैंकले करोबारका लागि अन्तिम स्वीकृति दिइसकेको छ । कारोबार गर्न अन्तिम स्वीकृति पाउनेमा क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज, भिजन सेक्युरिटिज र सेक्यूर्ड सेक्युरिटिज रहेका छन् ।
 
मार्जिन कारोबार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको नेटवर्थ कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । कारोबार गर्न ब्रोकर कम्पनीले आफ्नै फन्ड वा बैंकबाट ऋण लिएर यो सुविधा दिन सक्नेछन् । ब्रोकर कम्पनीहरुले बजारको अवस्था तथा जोखिम अध्ययन गरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत ‘मेन्टिनेन्स मार्जिन’ लिनुपर्ने व्यवस्था रहेको छ । ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने ‘मेन्टिनेन्स मार्जिन’ भुक्तान गर्न नसकेमा ब्रोकर व्यावसायीले त्यो सेयर बिक्री गर्न सक्नेछन् ।
 
मार्जिन कारोबार सुविधा लिन लगानीकर्ताले के गर्नुपर्छ ?
 
मार्जिन कारोबार सुविधाका लागि लगानीकर्ताले ब्रोकरमा गएर कारोबार खोल्न निवेदन दिनुपर्ने व्यवस्था छ । लगानीकर्ताको निवेदन र नेपाल धितोपत्र बोर्डले तोके अनुसार ग्राहक परिचय पत्र लिनुपर्छ । करोबार अनुमति परिचय प्राप्त गरिसकेपछि ब्रोकर कम्पनी र लगानीकर्ताले आपसी सहमतिमा ब्याजदर निर्धारण सम्झौता गर्नुपर्छ । यसलाई बोर्डले खुल्ला छाडिदिएको छ ।
 
मार्जिन कारोबार कार्यान्वयनमा आएपछि लगानीकर्ताले किन्ने सेयरमा ५०% भन्दा बढी रकम ब्रोकर कम्पनीहरुले सापटीका रुपमा प्रदान गर्नेछन् । जसले गर्दा मूल्यको आधा रकम भयो भने पनि लगानीकर्ताले सेयर खरिद गर्न पाउनेछन् । यद्यपि, सबै कम्पनीका सेयरमा भने यस्तो सुविधा लागू हुनेछैन । यसका पनि विभिन्न विधि र मोडालिटी तय गरिनेछ ।  

Post Your Comment