Market Closed

हाइड्रोपावरको १ करोड ७० लाख कित्ता आइपीओ आउने, अनुमति कहाँ–कहाँ जाने ?

07 Jun,2019
  • electricity-ayok_6_7_2019_6_31_04.jpg
इशारा कोइराला
 
काठमाडौं : पछिल्लो समय जलविद्युत (हाइड्रोपावर) कम्पनीहरुको आइपीओ आउने क्रम बढेको छ । अहिले पनि नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने जलविद्युत कम्पनीको संख्या ८ रहेको छ । यी कम्पनीहरुले १ करोड ७० लाख २८ हजार  ६० कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका हुन् । यस आधारमा १ अर्ब ७० करोड भन्दा बढीको सेयर पाइपलाइनमा रहेको देखिन्छ ।  
 
तर, यी कम्पनीको आइपीओ निष्कासन स्वीकृति नहुँदै जलविद्युत कम्पनीले आइपीओ जारी गर्नु पूर्व विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने धितोपत्र बोर्डले व्यवस्था गरेको छ । यो व्यवस्थासँगै आइपीओ जारी गर्न बोर्डमा अनुमति मागेका कम्पनीहरुले पुनः विद्युत नियमन आयोगको स्वीकृति लिएर मात्र आइपीओ खुला गर्न पाउने भएका छन् ।



बोर्डले जलविद्युत क्षेत्रमा प्रत्यक्ष नियमनकारी निकायको अभाव भएकाले सरकारले विद्युत नियमन आयोग ऐन–२०७४ र सो सम्बन्धी विद्युत नियमन आयोग नियमावली–२०७५ कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । जलविद्युत क्षेत्रको नियमन निकायको स्थापनासँगै उक्त आयोगले जलविद्युत कम्पनीको सार्वजनिक निष्कासनको आवश्यकता, संस्थागत सुशासन लगायतका विषयमा नियमन गर्नेछ ।
 
२ कम्पनी आइपीओ जारी गर्नुपूर्व नियमन आयोग जानुपर्ने या नपर्ने विषयमा बोर्डमा छलफल
 
धितोपत्र बोर्डले जेठ ८ गते जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्नुपूर्व विद्युत नियमन आयोगको अनिवार्य अनुमति लिनुपर्ने नियम ल्याएको थियो । यसै नियमलाई आधार मानेर जलविद्युत कम्पनीहरुले आइपीओ जारी गर्न विद्युत् नियमन विभाग जानुपर्नेछ । 
 
तर आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गरिसकेर सर्वसाधारणका लागि अनुमति मागेका कम्पनीले विद्युतीय नियमन आयोगको स्वीकृति लिनुपर्ने या नपर्ने भन्नेमा थप अन्योलता देखिएको छ । यस विषयमा छलफल भइरहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेपाली पैसालाई जानकारी दिए । यद्दपि यो विषमा बोर्डले अन्तिम टुंगो भने लगाइसकेको छैन ।
 
अहिले स्थानीयलाई आइपीओ जारी गरिसकेर सर्वसाधारणलाई जारी गर्न दुई कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा निवेदन दिने यी दुई कम्पनीमा शुभम् पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । शुभम पावरले ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न बोर्डमा अनुमति मागेको छ । यसमा स्थानीयले नबिकेको १ लाख ८० हजार ५ सय ८० कित्ता पनि समावेश गरिएको छ ।

त्यस्तै, मैलुङ खोला जलविद्युतले सर्वसाधारणको लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । ६ कम्पनीले १ करोड ५७ लाख कित्ता आइपीओ जारी गर्न नियमन आयोगबाट स्वीकृत लिनुपर्ने  बोर्डले नयाँ नियम ल्यायसँगै तत्काल ६ कम्पनीले आइपीओ जारी गर्न विद्युत नियमन आयोग जानुपर्ने निश्चित भएको छ ।

यी ६ कम्पनीको हाल बोर्डमा १ करोड ५७ लाख ११ हजार ५९४ कित्ता आइपीओ पाइपलाइनमा छ । तर अब विद्युत नियमन आयोगबाट स्वीकृत लिएर आएपछि मात्र यी कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिइने बोर्डले जानकारी दिएको छ । 
 

Post Your Comment