Market Closed

वैकल्पिक लगानी के हो, प्राइभेट इक्विटी फन्डले कसरी गर्छ काम ?

10 Jun,2019
  • private_equaty_img_6_10_2019_6_39_11.jpg
गणेश श्रेष्ठ
 
काठमाडौं : नेपालको पुँजी बजार विकासको मार्गमा निरन्तर अगाडि बढिरहेको छ । धितोपत्रको प्राथमिक बजार देशभरि नै पहुँच योग्य भएको छ भने दोस्रो बजार पनि काठमाडौं उपत्यका बाहिरका मुख्य शहरहरुमा विस्तार भइसकेको छ । पुँजी बजारमा लगानिकर्ताको संख्या दिनहुँ बढ्दै गएको छ । बजारको विस्तार र सहभागीकोको संख्यामा वृद्धि भएसँगै नेपालको पुँजी बजारमा विभिन्न वित्तीय उपकरणहरुको विकास गरी पुँजी निर्माण र परिचालनमा प्रयोग गर्दै जाने क्रम पनि अगाडि बढिरहेको छ ।

यसको उदाहरणका रुपमा हालसालै पुँजी बजारमा ल्याइएको एउटा नयाँ वित्तीय उपकरण, वैकल्पिक लगानी कोष हो । नेपाल धितोपत्र बोर्डले हालै विशिष्टिकृत लगानी कोष नियामवली, २०७५ बनाई नेपाल सरकारको स्वीकृतिमा मिति २०७५ फागुन २२ देखि लागू गर्ने निर्णय गरेसँगै यसको स्थापना र सञ्चालनको लागि कानून आधार तयार भएको छ । यसले विशेषगरी प्राइभेट इक्विटी फन्ड, भेञ्चर क्यापिटल फन्ड, हेज फन्ड जस्ता वैकल्पिक लगानी कोषको स्थापना र सञ्चालन गर्न सकिने कानुनी व्यवस्था गरेको छ । 
 
वैकल्पिक लगानी कोष अन्तर्गतका विभिन्न उपकरणमध्ये एउटा महत्वपूर्ण वित्तीय उपकरण प्राइभेट इक्विटी फन्डलाई लिन सकिन्छ । यस उपकरणको विकास र विस्तारले पुँजी बजारको साथै समग्र अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रदान गर्न सहयोग गर्दछ । यसको विकास र विस्तारले उच्च नेटवर्थ भएका विशिष्टिकृत संस्थागत र व्यक्तिगत लगानीकर्ताका लागि परम्परागत लगानीको अलावा नयाँ वैकल्पिक लगानीका अवसर प्रदान गर्दछ ।

अर्कोतिर नवीनतम ज्ञान, सीप, क्षमता एवं सोच भएका नयाँ वस्तु, सेवा, प्रविधि, एवं बौद्घिक सम्पत्तिसँग सम्बन्धित व्यवसायहरुको सञ्चालन गर्नका लागि वैकल्पिक वित्तीय स्रोत उपलब्ध गराउँदछ । नेपालमा स्थापना तथा सञ्चालनमा रहेका अधिकांश व्यवसाय तथा उद्योगधन्दाहरु आफू र आफन्तहरुबाट पुँजी संकलन गरेर वा बैैंक तथा वित्तीय संस्थाबाट ऋण लिण लिएर सञ्चालन गरेको पाइन्छ । केही सीमित व्यवसाय मात्र सार्वजनिक रुपमा पुँजी संकलन गरी पब्लिक कम्पनीका रुपमा सञ्चालन भएका छन् ।

जब सिर्जनशील उद्यमी, व्यवसायीलाई व्यासाय सञ्चालनका लागि आवश्यक स्रोत आफ्नै निजी लगानीबाट अपुग हुन्छ, तब अन्य विभिन्न वित्तीय स्रोतहरुको खोजी हुने गर्दछ । यसमा मुख्य स्रोतका रुपमा आफूसँग भएको भौतिक सम्पत्ति धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रचलन बढी छ । केही सीमित ठूला व्यवसायीहरुले मात्र धितोपत्रको निष्कासन गरी दीर्घकालीन पुँजी प्राप्त गर्ने विकल्प अपनाएको पाइन्छ ।

सिर्जनशील सोच एवं विचार भएका तर धितो राख्न भौतिक सम्पत्तिको अभावमा बैंक तथा वित्तीय संस्थाबाट औपचारिक ऋण प्राप्त गर्ने नसक्ने र विभिन्न कानुनी प्रक्रिया पूरा गर्न नसकी सार्वजनिक रुपमा धितोपत्र निष्कासन गरी दीर्घकालीन पुँजी प्राप्त गर्न नसक्ने अवस्थाका उद्यमीहरु वास्तवमै समस्यामा रहेका हुन्छन् । यो वर्गका सिर्जनशील र उद्यमउन्मुख व्यक्तिहरुको समस्या समाधान गर्दै उनीहरुलाई स्वामित्व पुँजीको रुपमा आवश्यक वित्तीय स्रोत प्रदान गर्ने वैकल्पिक माध्यमको रुपमा वैकल्पिक लगानी कोष विकास भएको हो । 
 
विशिष्टिकृत लगानी कोष नियमाावली, २०७५ अनुसार प्राइभेट इक्विटी फन्ड भन्नाले कोषको उद्देश्य प्राप्तिका लागि सर्वप्रथम स्वःपँुजी वा स्वः पुँजीसँग सम्बन्धित अन्य उपकरण वा लगानी गर्ने कम्पनीका साझेदारेहरुको इच्छा बमोजिम लगानी गर्ने कोषलाई बुझाउँछ । यस फन्डले कम लागतमा व्यवसायीलाई मध्यकालीन तथा दीर्घकालीन वित्तीय स्रोतको सजिलै व्यवस्था गर्न मद्दत गर्दछ ।
 
प्राइभेट इक्विटी फन्डको आवश्यकता तथा महत्व
 
खासगरी अर्थ व्यवस्थापनमा उद्योग व्यवसायहरुको विकास र विस्तार गरी गार्हस्थ्य उत्पादनमा वृद्घि गर्न तथा अर्थतन्त्रलाई चलायमान गर्न वा ठूला संस्थागत लगानीकर्ता र विशिष्ट श्रेणीमा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानीको अवसर प्रदान गर्न प्राइभेट इक्विटीको धेरै महत्व रहेको छ ।  प्राइभेट इक्विटीले वैकल्पिक लगानीको अवसर प्रदान गर्दछ । जसको मध्यमबाट संस्थागत तथा व्यक्तिगत लगानीकर्ताबाट विभिन्न सिजर्नशील सोच एवं विचार भएका प्राइभेट कम्पनीहरुमा लगानी गरिन्छ ।

तर, यस एकाईलाई विनिमय बजारमा भने सूचीकरण गरिदैन । यस फन्डमा लगानी गर्ने लगानीकर्ता उच्च नेटवर्थ भएका संस्था, विशिष्टिकृत व्यक्तिगत लगानीकर्ताको साथसाथै गैर आवासीय नेपाली लगायत विदेशी संस्थागत लगानीकर्ताको सहभागिता रहने भएकाले अर्थतन्त्रमा ठूलो लगानी वृद्घि गर्न सहयोग पुग्दछ । तसर्थ समग्र अर्थ व्यवस्थामा यस फन्डको आवश्यकता तथा महत्व अधिक रहेको हुन्छ ।

यस फन्डले विशोष गरी नवीनतम् ज्ञान, सीप, क्षमता भएका नयाँ वस्तु, सेवा, प्रविधि एवं बौद्घिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायहरु सञ्चालन गर्न वा सञ्चालनका लागि सुरु गरिएका अथवा सञ्चालन भइरहेका व्यावासायहरुको विस्तार र विकास गर्न आवश्यक वित्तीय स्रोतको व्यवस्था गर्दछ । जसले गर्दा अर्थव्यवस्थामा उद्योगधन्दाको विस्तार र विकास भई रोजगारी तथा आम्दानी वृद्घि हुन्छ र कुल गार्हस्थ्य उत्पादनमा बढोत्तरी हुन जान्छ । 
 
विशेषगरी नवीतम उद्देश्य एवं सोच सहितमा साना तथा मझौला उद्यमहरुमा लगानी विस्तार गर्न यस फन्डको महत्व बढी रहने गर्दछ । लगानीको अभावमा स्थापना तथा सञ्चालन हुन नसकेका नयाँ व्यवसायलाई एन्जल फाइनान्सिङको रुपमा वित्तीय स्रोत प्रदान गर्न प्राइभेट इक्विटी फन्डको अति नै महत्व रहेको छ ।

परिवार तथा आफन्तहरुबाट रकम संकलन गरी व्यवसाय सञ्चालन भइरहेको हाम्रो परिपेक्ष्यमा यो संस्करणमा तेस्रो पक्षले प्रबद्र्घन गरेको व्यवसायमा लगानी थप गरी उद्योग व्यवसायलाई गति दिन यो एक भरपर्दो माध्यमको रुपमा देखा परेको छ । यस फन्डले लगानीको साथै उद्यमहरुको क्षमता वृद्घि गर्न प्राविधिक सहायता पनि प्रदान गर्ने भएकाले व्यवसायहरुको प्रतिस्प्रधात्मक क्षमता तथा पारदर्शितामा वृद्घि हुन्छ । साथै, व्यवसायको आकारमा वृद्घि गराउन मद्दत गर्दछ ।

देशमा वित्तीय पहुँचको वृद्घि हुँदै औद्योगिक विकास र विस्तारमा सहज भूमिका खेल्छ । विशेषगरी धितोपत्र बजारमा सूचीकरण नभएका वा सञ्चालनको सुरुवाती चरणमा रहेका वा सञ्चालन प्रकृयामा अगाडि बढिसकेका नवीनतम, ज्ञान, सीप र क्षमता भएका उद्यमहरु सञ्चालन गर्न स्वामित्व पुँजीमा लगानी गर्ने कोषको रुपमा रहेको प्राइभेट इक्विटी फन्डको समग्र अर्थव्यवस्थामा विशेष महत्व तथा आवश्यकता हुन्छ । यस फन्डको विकासले गैरआवासीय नेपाली लगायत विदेशी व्यक्तिगत एवं संस्थागत लगानी भित्र्याउन समेत सहयोग पुग्दछ । 
 
प्राइभेट इक्विटीको विकासक्रम
 
विशेषगरी औद्योगिक क्रान्तिको अन्त्यसँगै लगानीकर्ताहरुले निजी कम्पनीहरुमा आशिंक लगानी वा व्यवसाय प्राप्ति गर्ने गरेको पाइन्छ । यसको विकासक्रम २० औं शताब्दीको मध्यदेखि भएको हो । विश्व बजारमा प्राइभेट इक्विटीको प्रारम्भिक सुरुवात अन्तर्गत व्यापक निजी इक्विटी उद्योगमा, दुई विशिष्ट उपउद्योगहरु लिभरेज खरिद र उद्यम पुँजी समानान्तर रुपमा विकसित भइरहेको पाइन्छ । बैंकिङ क्षेत्रका शक्तिशाली व्यक्ति जेपी मर्गनले १९०१ मा कार्निगी स्टील निगमको पहिलो लिभरेज खरिद गरेका थिए ।

अधिकाशं निजी प्राइभेट इक्विटी फर्महरु दोस्रो विश्व युद्धपछि १९७० को दशकसम्म वित्तीय परिस्थितिकीय प्रणालीबाट बाहिर रहे । तर, १९७० र १९८० को दशकमा यस्ता फर्महरु वित्तीय अवस्था कमजोर भएर अस्तित्वका लागि संघर्षरत कम्पनीहरुलाई सार्वजनिक बजारबाट बाहिर रहेर पुँजी वृद्धि गर्ने लोकप्रिय स्रोत बन्न पुगे । यससँगै निजी इक्विटीको आकार बढेको पाइन्छ ।

जब, १९८८ मा Kohlberg, Kravis & Roberts (KKR) द्धारा २५.१ अर्ब डलर (४२५.१ विलियन) मा RJR Nabisco को खरिद नै निजी इक्विटी इतिहासमा सबैभन्दा ठूलो कारोबार थियो । सन् २००५ देखि २००७ को बीचमा निजी इक्विटी उच्च उतारको अवस्थामा रहेको थियो । भारतमा निजी इक्विटीको विकासलाई हेर्दा सबैभन्दा पुरानो निजी Baring Private Equity Partners (BPEP) ले १९८८ मा आफ्नो यात्रा सुरु गरेको थियो । यसले पछिल्ला तीन दशकमा १ अर्ब १० करोड (१.१ विलियन डलरभन्दा बढी कोष संकलन गरी विभिन्न ५३ क्षेत्रमा लगानी गर्यो ।

 भारतमा वैकल्पिक लगानीसम्बन्धी कानूनी व्यवस्था सन् २०१२ मा Securities and Exchange Board Of India (Alternative Investment Funds) Regulation २०१२ जारी गरेसँगै भएको थियो । यसैगरी बंगलादेशको पुँजी बजारमा वैकल्पिक लगानी कोषको लागि कानूनी व्यवस्था गर्न Bangaladesh Securities and Exchange Commission (Alternative Investment) Rules, २०१५ स्वीकृत गरेसँगै भएको थियो ।

नेपालमा भने सर्वप्रथम प्राइभेट इक्विटी (पिई) अवधारण विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले आरम्भ गरेको पाइन्छ । जोसँग मिलेर विभिन्न विदेशी संस्थाहरुले निजी कम्पनीमा लगानी गरेका छन् । 
 
प्राइभेट इक्विटी फन्डको सञ्चालन प्रकृया
 
विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ अनुसार प्राइभेट इक्विटी कोषको स्थापना तथा सञ्चालनका लागि बोर्डबाट नियमपूर्वक योग्यता पुगेको संगठित संस्थाले कोष व्यवस्थापकको रुपमा अनुमति लिनुपर्दछ । त्यसपछि बोर्डबाट अनुमति प्राप्त कोष व्यवस्थापकले आफूले सञ्चालन गर्ने कोष बोर्डमा दर्ता गर्दछ । कोष व्यवस्थापकले दर्ता गरेको कोषको एकाई निष्कासन गरिसक्नु पर्दछ ।

एकाई निष्कासन गर्नुभन्दा अगाडि कोष व्यवस्थापकले कोषमा रकम संकलनका लागि लिक्षित लगानीकर्ता पहिचान गरी परिपत्र विधि वा व्यक्तिगत सम्पर्कको माध्यमबाट एकाईको निष्कासन गर्न सक्छ । यस्तो एकाई अन्तर्राष्ट्रिय संघ संस्था वा बहुपक्षीय संस्थागत लगानीकर्तालाई समेत निष्कासन गर्न सकिन्छ । जुन ऋणको रुपमा समेत निष्कासन गर्न सकिन्छ । 
 
नियामावली अनुसार कोषको रमक कम्तिमा १५ करोड रुपैयाँको हुनुपर्ने, एकाईधनीको संख्या २ सयभन्दा बढी नहुने, कोष बन्दमुखी प्रकृतिको हुनु पर्ने, एकाईधनीलाई प्रतिफलको रुपमा नगद लाभांश मात्र दिने र एउटा एकाईधनीले कम्तिमा ५० लाख रुपैयाँको एकाई खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । यस कोषको समयावधि पाँचदेखि पन्ध्र वर्षको हुने व्यवस्था समेत गरिएको छ । 
 
निजी (प्राइभेट) कम्पनीहरुमा लगानी गर्ने निजी लगानी कम्पनीहरुका रुपमा प्राइभेट इक्विटी फन्डलाई लिन सकिन्छ । प्राइभेट इक्विटी फन्डमा दुई किसिमका पाटर्नर हुन्छन् । जस्तै एउटा लिमिटेड पार्टनर र अर्को जनरल पार्टनर रहन्छन् । लिमिटेड पार्टनरले केषको करिब ९८% स्वामित्व ग्रहण गर्दछ भने दायित्व लगानी गरे बरावर रकममा सीमित रहन्छ ।  जनरल पार्टनरले सीमित स्वामित्व ग्रहण गर्दछ तर असीमित दायित्व बोकेको हुन्छ । जनरल पार्टनरलाई लगानीको कार्यान्वयन एवं सञ्चालन गर्ने पूरा दायित्व एवं अधिकार हुन्छ । जनरल पार्टनर अन्तर्गत कोष व्यवस्थापक रहेको हुन्छ ।

उसले द्धिपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाले लगानी गरेको कोषको हकमा बाहेक अन्य कोषमा न्यूनतम २% हिस्सा निरन्तर कायम राख्ने व्यवस्था गर्नु पर्दछ । कोष व्यवस्थापकले संकलन गरेको कोषको रकम नेपाल सरकारको प्रचलित कानून बमोजिम लगानी गर्न निषेध गरिएका क्षेत्रहरुमा बाहेक लगानी सम्झौतामा उल्लेख भए बमोजिमका कम्पनी वा व्यवसायमा लगानी गर्न सकिने व्यवस्था नियमावलीले गरेको छ । 
 
खासगरी यस फन्डमा लगानीको जोखिम तथा प्रतिफलको विश्लेषण गरी कोषको स्वपुँजीमा लगानी गर्न सक्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, अवकाश कोष, सञ्चय कोष, नागरिक लगानी कोष जस्ता प्रचलित कानून वमोजिम स्थापित कोष, द्धिपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, लगानी गर्न सक्ने उद्देश्य भएका प्रचलित कानून वमोजिम नेपालमा स्थापना भएका संस्था, नेपाली नागरिक तथा गैर आवासीय नेपाली योग्य लगानीकर्ताको रुपमा रहन सक्ने व्यवस्था कानुनले गरेको छ । 
 
अन्त्यमा
 
प्राइभेट इक्विटी फन्डको सञ्चालनले पुँजी बजारको दायरा फराकिलो हुने, नविनतम् उद्यम व्यवसाय सञ्चालनका लागि पुँजी जुटाउन सहज अवस्था सिर्जना हुन गई लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भए स्वदेशी लगानी परिचालन हुने वैदेशिक लगानी भित्रिनको लागि समेत अनुकुल वातावरण हुने हुँदा देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।
 
(नेपाल धितोपत्र बोर्ड, २७ औं वार्षिकोत्सव विशेषांक २०७६ मा प्रकाशित लेख)
 

Post Your Comment