Market Closed

सुस्त बजारमा अवसर, खरिदबिक्रीमा शिवमले अग्रता लिंदा कसको बढ्यो धेरै भाउ ?

11 Jun,2019
  • bear_girl-_6_11_2019_3_45_41.jpg
नेपाली पैसा 

काठमाडौं : पुँजी बजार सुस्त भइरहँदा नयाँ प्रवेश गर्न चाहने लगानीकर्ताका लागि भने गतिलो अवसर साबित हुन सक्ने देखिएको छ । यसअघि बजार छोटो समयमै झन्डै साढे २ सय अंककै हाराहारीमा माथि गयो । लगभग ३ महिना अवधिमा बजारले ठूलै फड्को मारेको हो । बजेटपछि भने सेयर बजार केही सुस्त देखिएको छ । बजारले मौद्रिक नीति कुरेको छ ।

यसबाहेक चालु आर्थिक वर्ष समाप्ति र नयाँ आर्थिक वर्षको आगमन आसपासमा बजार केही सुस्त हुनु स्वभाविक पनि हो । अहिले राम्रा कम्पनीको पनि भाउ घटेको छ । बजार सुस्त हुँदा लगानीकर्तालाई थप अध्ययन, अनुसन्धान गरेर लगानी गर्ने मौका पनि मिलेको देखिन्छ । यसर्थ, घटेको बजार पनि नयाँ प्रवेशीका लागि उपयुक्त अवसर हुने भएकाले आत्तिनु नपर्ने बजारका अनुभवीहरु बताउने गर्छन् । 
 
सेयर बजारको गति सधैं एकनाशको हुँदैन । बजार कहिले बढ्ने त कहिले घट्ने गर्छ । कुनै बेला बजार तल न माथिको अवस्थामा स्थिर पनि रहने गर्छ । सेयर बजारका सबै प्रकारका प्रवृत्ति लगानीकर्ताका लागि अवसर साबित हुन सक्छ । तर यसका लागि अध्ययन, अनुसन्धान भने आवश्यक हुन्छ । यतिबेला सेयर बजारका लागि नीतिगत, कानुनी सबै हिसाबले सकारात्मक समय देखिएको छ ।



बैंक ब्याजदरले भने अझै अपेक्षा अनुसार सहयोग गरेको देखिंदैन । ब्याजदर पनि विस्तारै सहज हुँदै जाने अनुमान गर्न सकिन्छ । नेप्से सूचक मंगलबार ०.१७ अंकले बढेर १२७५.९९ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.०१% ले माथि लागेको हो । १७४ कम्पनीको ४८ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

१५ लाख ९ हजार ८८५ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा ६ वटा माथि र ६ वटा तल झरेका छन् । वाणिज्य बैंक समूहको सूचक २.४६ अंकले बढेको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता लिएको छ । शिवमको ३ करोड ७८ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । खरिदबिक्री रकममै दोस्रो र तेस्रोमा एनआइसी एसिया र कृषि विकास बैंक परेका छन् । 

पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.५२% ले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ता छन् । उनीहरुले ९.६१% का दरले गुमाएका हुन् । 

 

Post Your Comment