Market Closed

मार्जिन कारोबार गर्न १४ ब्रोकरले पाए अनुमति, ७ प्रक्रियामा, कसरी लिने सुविधा ?

05 Sep,2019
  • margin-trading_9_5_2019_7_31_10.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले सोमबार (भदौ १८ गते) मार्जिन कारोबार सुविधा कार्यान्वयनका लागि सम्पूर्ण बाटाहरु खुला गरिदिएको छ । यसअघि मार्जिन कारोबार राफसाफका लागि छुट्टै हितग्राही खाता खोल्ने प्रावधान नहुँदा रोकिएको मार्जिन कारोबार धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा संशोधन भएपछि कार्यान्वयनका लागि पूर्वाधार पूरा भएको हो ।
 
यता, १४ ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार सेवा सञ्चालनका लागि अनुमति पाइसकेका छन् । ७ ब्रोकर कम्पनीहरु अनुमतिको प्रक्रियामा रहेको नेप्सेले जनाएको छ । १४ ब्रोकर कम्पनीहरुलाई नेप्सेले दुई चरणमा गरेर अनुमति दिएको हो । पहिलो चरणमा ८ ब्रोकरले कारोबार अनुमति पाएको दुई महिना बितिसक्दा पनि मार्जिन कारोबार सम्बन्धी कानुनी अन्योलताका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
 
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा मार्जिन कारोबार राफसाफका लागि छुट्टै हितग्राही खाता चाहिने व्यवस्था थप गरी संशोधनका लागि धितोपत्र बोर्डमा प्रस्ताव पेश गरेको थियो । सीडीएसको उक्त प्रस्तावलाई बोर्डले स्वीकृति दिएको छ । संशोधन पश्चात राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्य मार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।
 
सीडीएससीले अब मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खाताको व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनुपर्नेछ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको नेटवर्थ कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । कारोबार गर्न ब्रोकर कम्पनीले आफ्नै फन्ड वा बैंकबाट ऋण लिएर यो सुविधा दिन सक्नेछन् ।

ब्रोकर कम्पनीहरुले बजारको अवस्था तथा जोखिम अध्ययन गरी ग्राहकसँग न्यूनतम ४०% ‘मेन्टिनेन्स मार्जिन’ लिनुपर्ने व्यवस्था रहेको छ । ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने ‘मेन्टिनेन्स मार्जिन’ भुक्तान गर्न नसकेमा ब्रोकर व्यावसायीले त्यो सेयर बिक्री गर्न सक्नेछन् ।


 
मार्जिन कारोबार सुविधा लिन लगानीकर्ताले के गर्नुपर्छ ?
 
मार्जिन कारोबार सुविधाका लागि लगानीकर्ताले ब्रोकरमा गएर कारोबार खोल्न निवेदन दिनुपर्ने व्यवस्था छ । लगानीकर्ताको निवेदन र नेपाल धितोपत्र बोर्डले तोके अनुसार ग्राहक परिचय पत्र लिनुपर्छ । करोबार अनुमति परिचय प्राप्त गरिसकेपछि ब्रोकर कम्पनी र लगानीकर्ताले आपसी सहमतिमा ब्याजदर निर्धारण सम्झौता गर्नुपर्छ । यसलाई बोर्डले खुला छाडिदिएको छ ।
 
मार्जिन कारोबार कार्यान्वयनमा आएपछि लगानीकर्ताले किन्ने सेयरमा ५०% भन्दा बढी रकम ब्रोकर कम्पनीहरुले सापटीका रुपमा प्रदान गर्नेछन् । जसले गर्दा मूल्यको आधा रकम भयो भने पनि लगानीकर्ताले सेयर खरिद गर्न पाउनेछन् । यद्यपि, सबै कम्पनीका सेयरमा भने यस्तो सुविधा लागू हुनेछैन । यसका पनि विभिन्न विधि र मोडालिटी तय गरिनेछ । 
 
 

Post Your Comment