Market Closed

नेप्सेको इन्डेक्स गणनामा हदैसम्म लापरवाही, यसरी हुँदैछ खेलबाड

06 Sep,2019
  • wrong_img_9_6_2019_6_50_54.jpg
इशारा कोइराला
 
काठमाडौं : सेयर बजारमा निकै महत्वपूर्ण मानिएको सेन्सेटिभ इन्डेक्स गणनामा चरम लापरवाही भइरहेको छ । तोकिएका निश्चित मापदण्ड पूरा गरी ‘क’ वर्गमा परेका कम्पनीहरुको करोबारलाई आधार मानेर सेन्सेटिभ इन्डेक्स (सूचक) गणना गरिने प्रावधान छ । अनि, यस्तो वर्गीकरण गर्नका लागि प्रत्येक वर्ष माघ महिनामा क वर्गमा पर्ने सूचीकृत कम्पनीहरुको नाम सार्वजनिक गरिन्छ । तर, गएको माघ (२०७५साल) मा क वर्गका कम्पनीहरुको नामावली नै सार्वजनिक गरिएन ।

नयाँ वर्गीकरणमा परेका कम्पनीहरुको नाम सार्वजनिक नगरिएपछि अघिल्लो वर्ष (२०७४) कै वर्गीकरणमा परेका कम्पनीहरुको आधारमा अहिले पनि सेन्सेटिभ परिसूचक गणना भइरहेको छ । यसलाई चरम लापरवाहीको नमुना मान्न सकिन्छ । सूचकलाई आधार मानेर लगानी गर्नेको अवस्था के हुन्छ ? भन्ने अर्को प्रश्न पनि यसले उब्जाइदिएको छ । त्यतिमात्र होइन, नेप्सेको परिसूचक, उपसूचक, बजार पुँजीकरण लगायतका महत्वपूर्ण औजारहरु कत्तिको विश्वसनीय र भरपर्दा छन् भन्ने गहन प्रश्न पनि यहाँ खडा भएको छ । 
 
नेप्से परिसूचकले समग्र बजारको प्रतिनिधित्व गर्ने विश्वास आम लगानीकर्तामा रहँदै आएको छ । अधिकांशले नेप्से परिसूचकलाई आधार मानेरै लगानी निर्णय गर्छन् । यसर्थ, अनुभवी लगानीकर्ताले नेप्से सूचक र उपसूचकहरु भन्दा पनि कम्पनीलाई अध्ययन गरेर लगानी गर्न सुझाव दिने गरेको प्रसंग पनि यहाँ मननीय हुने देखिएको छ । 
 
धितोपत्र सूचीकरण विनियमावली, २०५३ मा व्यवस्था भएको सर्तहरु पूरा गरेका सूचीकृत कम्पनीहरुलाई नेप्सेले सेन्सेटिभ इन्डेक्समा राख्ने गरेको छ । यस अन्तर्गत राखिएका कम्पनीहरुको कारोबार अर्थात मूल्यका आधारमा सेन्सेटिभ इन्डेक्स तलमाथि हुने गर्छ ।

यस विनियमावलीमा व्यवस्था भएका सर्तहरु अनुसार चुक्ता पुँजी कम्तिमा २ करोड रुपैयाँ भएको, साधारण सेयरधनीहरुको संख्या १ हजार जना भएको, कम्तिमा ३ वर्षदेखि लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारेबार विवरण तथा आयव्यय विवरण पेश गरेका कम्पनीलाई मात्र नेप्सेले सेन्सेटिभ इन्डेक्समा राख्नुपर्नेछ ।

नेप्सेले प्रत्येक आर्थिक वर्षको माघ महिनामा सेन्सेटिभ इन्डेक्समा पर्ने कम्पनीहरु यही आधारमा सार्वजनिक गर्नुपर्छ । यसरी आउने नयाँ कम्पनीहरु र ती कम्पनीहरुको कारोबार तथा मूल्यले सेन्सेटिभ परिसूचकको अवस्था निर्धारण गर्छ । सेन्सेटिभ इन्डेक्सका कम्पनीहरुलाई ‘क’ वर्गका कम्पनी पनि भनिन्छ । 
 
तर, नेप्सेले धितोपत्र सूचीकरण विनियावली, २०७५ अनुसार सूचीकृत कम्पनीहरुलाई प्रत्येक त्रैमासमा ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ समूह भनेर  वर्गीकरण गर्न थालेको छ । एकातिर सूचीकृत कम्पनीहरुको वर्गीकरण विधि र तरिका परिमार्जन गरिएको छ । यस प्रावधान अनुसार क वर्ग नै छैन । सेन्सेटिभमा पुरानै विधि अनुसार क वर्ग भनेर वर्षमा एक पटक सूचीकृत कम्पनीहरुको नामाकरण सार्वजनिक हुने गरेको नेप्सेको दाबी छ ।

नेप्सेको यो भनाईलाई मान्ने हो भने फेरि गत माघमा किन नयाँ कम्पनीहरुको नाम सार्वजनिक गरिएन ? यो गम्भीर विषय बनेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ नयाँ वर्गीकरण विधि अनुसार सेन्सेटिभ इन्डेक्स गणना नहुने नेपाली पैसालाई जानकारी गराए । तर क वर्गका कम्पनीहरु गएको वर्ष किन सार्वजनिक भएन भन्ने प्रश्नको उत्तर दिनबाट भने उनी पन्छिए । 
 
प्रत्येक ३ महिनामा सार्वजनिक हुने नयाँ वर्गीकरण व्यवस्था अनुसार ‘ए’ वर्गमा रहने संस्थाहरुको चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष भएको, कम्तिमा ३ वर्षदेखि लगातार मुनाफामा रहेर लाभांश वितरण गरेको हुनुपर्नेछ । यसैगरी, क्रेडिट रेटिङमा औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार विवरण तथा आयव्यय विवरण पेश गरेका कम्पनी हुनुपर्नेछ । 
 
७ महिना बितिसक्दा पनि अद्यावधिक भएन
 
२०७४ को माघ महिनासम्म वर्गीकरण गर्दा १११ वटा सूचीकृत संस्थाहरु सेन्सेटिभ इन्डेक्समा परेका थिए । त्यसकै, आधारमा हाल सेन्सेटिभ इन्डेक्सको मापन हुँदै आएको छ । यद्यपि, त्यस बेला सेन्सेटिभ इन्डेक्समा परेका कतिपय कम्पनीहरु मर्जर–एक्विजिसनमा गएर कारोबार रोकिसकेको छ । कतिको अस्तित्व नै समाप्त भएको अवस्था छ । यस्तो अवस्थामा पनि नेप्सेले सोही कम्पनीहरुलाई आधार मानेर सेन्सेटिभ परिसूचक गणना गर्नु भनेको लापरवाहीको चरम नमुना हो ।

नेप्सेले समय सकिएको ७ महिना बितिसक्दा पनि नयाँ कम्पनीहरुको अद्यावधिक किन गरेको छैन भन्ने गहन प्रश्न पनि खडा भएको छ । तर नेप्सेका अधिकारी समेत यसको वास्तविक जवाफ दिन सकिरहेका छैनन् । नेप्सेले कम्पनीको वर्गीकरण अद्यावधिक किन नगरिएको ? किन परिसूचक गणनामा चरम लापरवाही भएको ? जस्ता प्रश्न राख्दा सम्बन्धित अधिकारीहरुले आलटाल गर्ने जवाफ दिएका छन् ।

यता, नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि यस बारेमा प्रश्न गर्दा पन्छिन खोज्दै भने, ‘अध्यावधिक भएको हुनुपर्छ । यसबारेमा थप बुझेर मात्रै कुरा गर्नसक्छु ।’ अन्त्यमा, सेन्सेटिभ इन्डेक्स अपडेट नगर्दा २ प्रमुख समस्या देखिएका छन् । पहिलो २०७४ मा क वर्गमा परेका कतिपय कम्पनी मर्ज वा एक्विजिसनका कारण अहिले अस्तित्वमै छैनन् । दोस्रो, २०७५ मा वर्गीकरण अपडेट गरेको भए अघिल्लो वर्ष समावेश भएका कति कम्पनी पर्ने थिए ।

कतिपय पर्ने थिएनन् । अर्थात् नयाँ थपिने थिए भने पुराना कतिपय यसमा समावेश हुने थिएनन् होला । नयाँ अपडेट अनुसार समग्र कम्पनीहरुको पुँजी संरचनामा फरक पर्ने हुँदा सेन्सेटिभ सूचकको अवस्था वा अंक नै अर्को हुन सक्ने थियो । २०७४ माघमा गरिएका वर्गीकरणमा परेका कम्पनीहरु तल राखिएका छन् । यी मध्ये कति कम्पनी त अहिले अस्तित्वमै छैनन् । 



Post Your Comment