नेपाली पैसा
काठमाडौं : अनलाइन सपिङ कम्पनी अलिबाबाको लागि सन् २०१९ ठूलो महत्व राख्ने वर्ष हुने भएको छ । चिनियाँ अनलाइन इ–कमर्र्स साइटले आज मंगलबार स्थापनाको २० औ वार्षिक उत्सव मानाउँदैछ । आजकै दिनबाट अलिबाबाका संस्थापक ज्याक माले अध्यक्षको पद छाड्दैछन् । निरन्तर २० वर्ष अध्यक्षको जिम्मेवारी प्रमुख संस्थापक ज्याक माले नै सम्हाल्दै आएका थिए ।
अब उनको उत्तराधिकारी अर्थात अध्यक्षको कार्यभार ड्यानियल ज्याङले सम्हाल्नेछन् । तर, अझै पनि १२ महिनासम्म आफूले ड्यानिलयलाई सहयोग गर्ने समेत ज्याक माले बताएका छन् । सन् १९९९ बाट सुरु भएको यस कम्पनी विभिन्न सामानहरु अनलाइन मार्फत बिक्री गर्दछ । अहिले यस कम्पनी भ्यालु ४६० अर्ब अमेरिकी डलर बराबर छ ।
अलिबाबाको २० वर्षे इतिहासका महत्वपूर्ण क्षणहरु :
सन् १९९९ अप्रिल–ज्याक माको नेतृत्वमा १८ जना मिलेर कम्पनीको स्थापना । त्यसबेला ज्याक माको अपार्टमेन्टमा कार्यालय राखिएको थियो ।
सन् २००० जनवरी–लगानी कम्पनी स्फ्ट बैंकको अलिबाबामा २ करोड डलर लगानी ।
मे २००३ – अलिबाबाको अर्को चिनियाँ अनलाइन सपिङ प्लेटफर्म टाओबाओ सुरु । सन् २०१९ भित्र ३.११ ट्रिलियन युआनको व्यापार गर्ने अनुमान गरिएको छ । यो अलिबाबाको आम्दानीको मुख्य स्रोत हो ।
डिसेम्बर २००४– अलि पे लञ्च । चीनको सबैभन्दा ठूलो अनलाइन भुक्तानी गर्न माध्यम बनेको थियो ।
अगस्ट २००५–अलिबाबाको ४०% सेयर याहुले खरिद गर्यो । यसका लागि याहुले १ अर्ब डलर खर्च गर्यो ।
नोभेम्बर २००७ – अलिबाबाले हङकङमा आइपीओ जारी गर्यो । त्यस समयमा १३.१ अर्ब हङकङ डलर आइपीओबाट जम्मा भएको थियो ।
अप्रिल २००८– विदेशबाट सामान निर्यात गरेर चिनियाँ उपभोक्ता माझ पुर्याउन टमल अनलाइल इ–कमर्स साइटको सुरु भयो ।
सेप्टेम्बर २००९–अलिबाबाले क्लाउड व्यापारमा हात हाल्यो । यो अलिबाबाको दोस्रो ठूलो कमाई हुने माध्यम हो ।
नोभेम्बर २००९– एक दिनका लागि विशेष छुटमा सपिङ खुलाएको थियो । उक्त बेला एकैदिन ७८ लाख डलर बराबरको कारोबार भएको थियो ।
मे २०१२– कम्पनीले सेयर बाइब्याक गर्यो । कम्पनीले आफ्नै २७% सेयर खरिद (बाइ ब्याक) गर्न २.४५ अर्ब खर्च गर्यो ।
सेप्टेम्बर २०१२– याहुले किनेको अलिबाबाको सेयर फेरि आफैंले खरिद गर्यो । अलिबाबाले याहूसँग भएको कुल ४०% सेयरमध्ये २०% किनेको हो । यसका लागि अलिबाबाले ७.६ अर्ब डलर खर्चेको थियो ।
सेप्टेम्बर २०१४– न्यू योर्क स्टक एक्सचेन्जमा आइपीओ जारी गर्यो । यो इतिहासकै सबैभन्दा ठूलो आइपीओ बन्यो । त्यसबेला अलिबाबाले आइपीओबाट २५ अर्ब डलर जम्मा गरेको थियोे ।
अगस्ट २०१५– चिनियाँ मोटर निमार्ण गर्ने कम्पनी सनिङमा ४.५६ अर्ब डलर लागनी गर्यो ।
अप्रिल २०१६– अन्तर्राष्ट्रिय बजारमा पनि केन्द्रित भयो । अहिले दक्षिण पूर्वी लगायतका देशहरुमा अलिबाबाले लगानी गरिरहेको छ ।
फेब्रुअरी २०१८– अलिबाबाले एन्ट फाइनान्सियलको ३३% सेयर खरिद गर्यो ।
सेप्टेम्बर १०, २०१९– अलिबाबाका संस्थापक ज्याक मा अध्यक्ष पद त्याग्दै । हाल सीइओ पद सम्हालिरहेका डयानियल ज्याङले अध्यक्ष हुँदै ।
एजेन्सीहरुको सहयोगमा