Market Closed

सेयर बजारको चाल कहिलेसम्म भइरहने सुस्त ?

10 Sep,2019
  • bear_ms_9_10_2019_3_21_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारको सुस्त चाल मंगलबार पनि जारी रहेको छ । सूचक र कारोबार रकम दुवै सुस्त हुँदा आम लगानीकर्ता अन्योलग्रस्त बनेको देखिन्छ । ठूला लगानीकर्ता ‘पर्ख र हेर’ कै रणनीतिमा रहँदा साना लगानीकर्ता भने अलमलमा परेका हुन् । कम्पनीहरुको महत्वपूर्ण वित्तीय सूचकहरुका आधारबाट सेयर बजार माथि जानुपर्ने देखिंरहँदा पनि यसले गति लिन नसक्नुलाई अनौठो मानिएको छ ।

अन्य सबै आधारभूत पक्ष सबल भइरहँदा पनि सेयर बजार सुस्त हुनुको प्रमुख कारण लगानीकर्ताको कमजोर आत्मबललाई नै मानिएको छ । लगानीकर्ता अझै पनि सरकारको नीति र रणनीतिसँग ढुक्क हुन सकेका छैनन् । कति बेला कस्तो नीतिगत अस्थिरता उत्पन्न हुने हो भन्ने आशंका व्यप्त रहेको देखिन्छ । जबसम्म लगानीकर्ता निर्धक्क हुन सक्दैनन् तबसम्म बजारले गति लिन गाह्रो हुन्छ । 
 
सेयर बजारप्रति सरकार तथा विशेष गरी अर्थमन्त्री संवेदनशील हुन सकेका छैनन् । लगानीकर्ताले बजारबाट खरबौं रुपैयाँ गुमाइरहँदा पनि मनोबल उकास्ने कार्यक्रम आएको छैन । बारम्बार नीतिगत अस्थिरता उत्पन्न गरिएकाले आम लगानीकर्ता सधैंजसो दुविधामा पर्दै आएका छन् । यसर्थ, सरकारले लगानीकर्ताको मनोबल उच्च राख्न सुधारका प्याकेज घोषणा गर्न जरुरी छ । 
 
लगानीकर्ताको मनोबल सुधार हुने हो भने बजार माथि जान सक्ने पर्याप्त स्थान देखिएको छ । सूचीकृत कम्पनीहरुको नाफा बढ्नु, तुलनात्मक रुपमा आकर्षक लाभांश घोषणा गरिनु अनि धमाधम साधारण सभाको मिति तय गरिनुले लाभांश हात पार्ने दिन नजिकिएको प्रष्ट हुन्छ । लगानीकर्ताले बलियो वित्तीय सूचक भएका कम्पनी छानेर लगानी गर्न सके लाभ लिन सकिने सम्भावना अधिक छ । घटेको बजार एक दिन अवश्य माथि जानेमा विश्वस्त हुन पनि आवश्यक छ । 
 
नेप्से सूचक २.२४ अंकले घटेर ११६६.६७ विन्दुमा अडिएको छ । १७२ कम्पनीको २३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ९ लाख ९२ हजार १२२ कित्ता खरिदबिक्री भएका छन् । १२ वटा समूहको कारोबार भएकोमा ४ समूहका सूचक बढेका छन् भने बाँकी समूह राता छन् । सबैभन्दा धेरै होटेल समूह २८.८७ अंकले बढेको छ । वाणिज्य बैंक समूह १.७५ अंकले घटेको छ । 
 
कारोबार रकममा कुमारी बैंकले अग्रता लिएको छ । कुमारीको १ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा एनआइसी एसिया बैंक र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स परेका छन् । यस दिन सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ६.७२% ले कमाएका छन् । अधिकतम गुमाउनेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता छन् । यसको भाउ ४.४६% ले घटेको छ । 


Post Your Comment