नेपाली पैसा
काठमाडौं : नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दोस्रो बजार अनलाइन प्रणालीमा जानु भनेको नै पुँजी बजारले फड्को मार्नु रहेको बताएका छन् । साउदले दोस्रो बजार अनलाइन प्रणालीमा गएसँगै लगानीकर्ताहरुले सहज रुपमा घरमै बसेर सेयर खरिदबिक्री गर्न सकेको दाबी गरे । एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेपालमै पहिलो पटक भएको यस कार्यक्रम आगामी भदौ २६ गतेसम्म चल्नेछ । साउदले कार्यक्रममा सेयर बजारका बारेमा छोटो मन्तव्य दिने क्रममा पुँजी बजार सुधारको क्रममा रहेको, प्रविधिले पनि फड्को मारिरहेकाले लगानीकर्ता आशावादी बन्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा एसिया प्रान्तमा रहेका ३५ वटा सदस्य संस्थाहरुका प्रतिनिधिहरु सहभागी छन् । यस कार्यक्रममा ३५ वटा सदस्य संस्थाका प्रतिनिधिहरुको माझमा केन्द्रीय निक्षेप सेवा प्रदायकहरुले लगानीकर्तालाई प्रदान गरिरहेका सेवा तथा सो का चुनौतीहरुका विषयमा छलफल हुने सीडीएससीले जानकारी दिएको छ ।
एसीजीको वर्तमान अध्यक्षको कार्यकाल यसै वर्षदेखि समाप्त हुँदैछ । यस सभाले नयाँ कार्यसमितिको चयन गर्ने छ । हाल एसीजीको अध्यक्ष कोरिया सेक्युरिटिज डिपोजिटरीका प्रमुख डा. व्युङघ्रे ली रहेका छन् ।