Market Closed

सीडीएसको लाभकर गणना सफ्टवेयरमा लगानीकर्ताले के–के देखे समस्या ?

10 Sep,2019
  • capitall_gain_9_10_2019_6_42_12.jpg
इशारा कोइराला
 
काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि तयार पारेको नयाँ सफ्टवेयरको धमाधम परीक्षण भइरहेको छ । लगानीकर्ताले आआफ्ना तर्फबाट सुझावहरु पनि दिएका छन् । सीडीएससीले आवश्यक सुझावलाई समेत समेटेर औपचारिक रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । सीडीएसका अनुसार यो सातासम्म परीक्षण सञ्चालन गरिनेछ ।

त्यसपछि आवश्यकता अनुसार सामान्य परिमार्जन सहित औपचारिक रुपमा कार्यान्वयनमा ल्याइनेछ । यद्दपि, सीडीएससीले औपचारिक कार्यान्वयनमा ल्याउने मिति भने अहिलेसम्म खुलाएको छैन । सम्भवतः केही दिनपछि नै औपचारिक सुरुवात हुने सीडीएससीको भनाई छ । 
 
सीडीएसले भदौ १६ गते देखि यसलाई परीक्षणमा ल्याएको ल्याएको हो । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘यो हप्तासम्म नयाँ सफ्टवेयर परिक्षणमा नै रहन्छ । त्यसको केही समयपछि मात्रै लगानीकर्ताले पूर्णरुपमा नयाँ सफ्टवेयरको प्रयोग गर्न पाउने छन् ।’ लगानीकर्ताको सुझावका आधारमा नयाँ सफ्टवेयर परिमार्जन गरिरहेको पनि उनले जानकारी दिए । 
 
यता, लगानीकर्ताहरुले नयाँ सफ्टवेयरमा विभिन्न किसिमका समस्या आयो भनेर सामाजिक सञ्जालमा गुनासो पोख्दै आएका छन् । लगानीकर्ताहरुले सफ्टवेयरमा नाम अर्कोकै आएको, बोनस, हकप्रद सेयरमा समस्या देखिएको बताए पनि वास्तविक रुपमा यसमा समस्या नभएको सेयर बजार जानकारहरुले बताएका छन् । मक टेस्टका लागि राखिएकाले यस्ता समस्या देखिएको हो । 
 
सेयर बजारका जानकार ज्योति दाहाल परीक्षणमा राखिएको सफ्टवेयरमा खासै समस्या नभएको बताउँछन् । उनले भने, ‘नयाँ सफ्टवेयरको डेमोमा सबै कुरा खुलाएर राखिदिएको छ । सुरक्षाका हिसाबले गर्दा नाम फरक आएको भनेर सीडीएससीले आफ्नो वेबसाइटमै जानकारी गराएको छ । यसर्थ, यो समस्या होइन ।’ 
 
दाहालले सीडीएससीको सफ्टवेयरमा अक्सनको लिस्ट पनि राख्न भने सुझाव दिएका छन् । बुक क्लोजपछि माउ सेयर बिक्री गर्दा हकप्रद, बोनस सेयरको पुँजीगत लाभकर गणनामा समस्या आउनेतर्फ पनि उनले सचेत गराएका छन् । यसमा सुधार्न आवश्यक रहेको उनको भनाई छ । 
 
त्यस्तै, नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जिव तुलाधरले पनि सीडीएससीले बुक क्लोजपछिको सेयरमा भने पुँजीगत लाभकर गणनामा ध्यान दिनुपर्ने बताए । यद्दपि, सेयर बजारका अन्य थुप्रै लगानीकर्ताले भने यसमा थुप्रै समस्या वा प्रश्नहरु तेस्र्याएका छन् । जसलाई हामीले तल क्रमशः राखेका छौं । 
 
सरकारले गत साउन १ गतेदेखि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर लिन थालेपछि गणना विधिमा समस्या आएको थियो । लगानीकर्ताले भारित औसत लागत विधिबाट लाभकर आफैंले गणना गरेर ब्रोकरलाई बुझाउनुपर्ने तथा सहीछाप गरेर ल्याप्चे लगाउनुपर्ने झन्झटिलो व्यवस्था गरिएको थियो । सोही झन्झटिलो व्यवस्थाका कारण लगानीकर्ता हतोत्साही भएका थिए ।

फलस्वरुपः पुँजी बजार लगातार घट्दो क्रममा लागिरहेको छ । सीडीएसले नयाँ प्रणाली प्रयोगमा ल्याएसँगै लगानीकर्तालाई निकै ठूलो राहत मिल्ने भएको छ । यसबाट लगानीकर्ताको आत्मबल सुधार्न समेत सहयोग पुग्ने देखिन्छ । लगानीकर्ताले अब ब्रोकर कार्यालयसम्म धाएर ल्याप्चे समेत लगाउनुपर्ने छैन । पुँजी बजारको दिगो विकासमा यसले सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ । 
 
सीडीएसले ल्याएकोे नयाँ सफ्टवेयर के हो ?
 
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि नयाँ सफ्टवेयर तयार पारेको छ । मेरो सेयर सफ्टवेयरमै नयाँ फिचर थप गरिएको हो । यसलाई सीडीएसले भदौ १६ गतेबाटै परीक्षणमा समेत ल्याएको हो । सीडीएसले लाभकर गणना प्रणालीसँगै मेरो सेयर सफ्टवेयरका अन्य फिचरहरुमा समेत अपग्रेड गरिएको जनाएको छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि लगानीकर्ताले सेयर बिक्रीपछि ल्याप्चे लगाउन ब्रोकरसम्म धाउनुपर्दैन । लागत हिसाब गर्ने प्रणाली पनि रहेको हुन्छ । तर यसका लागि मेरो सेयर सफ्टवेयर भने प्रयोग गर्नैपर्छ । 
 
लाभकर गणनाका लागि तयार पारिएको नयाँ प्रणालीका सम्बन्धमा लगानीकर्ताहरुले उठाएका केही प्रश्न र समस्याहरू 
 
१. पुराना सेयरका सम्बन्धमा सीडीएसले नेप्से सिस्टमबाट कारोबार रेकर्ड खोज्नुको सट्टा त्यसको लागत लगानीकर्ता स्वयंलाई तोक्न भनेको छ । जबकी लगानीकर्तासँग ती पुराना बिल वा स्टेटमेन्ट हुँदैन । भएपनि औसत लागत निकाल्न सक्दैनन् । त्यसैले, सीडीएसले कम्तिमा २०६४ साल देखिको डाटा आफैंले निकाल्नुपर्छ । त्यसमा नभएको मात्र लगानीकर्तालाई तोक्न भन्नुपर्छ ।
 
२. लिलामी तथा एफपीओ सेयर मूल्यको जानकारी सीडीएसले नपाएको खण्डमा मात्र माग्नुपर्छ ।
 
३. नियामकीय निर्देशन अनुसार एउटा डिम्याट खाताबाट अर्को खातामा सेयर सारेको अवस्थामा पनि लागत १०० रुपैयाँ  नै देखाउनु गलत हो । किनकी त्यो सीडीएसमा भएकै सेयर एउटाबाट अर्कोमा सारेको हो । त्यसैले डिम्याट खाताबाट अर्कोमा ट्रान्सफर वा डाटा अपडेट गर्ने जिम्मा पनि सीडीएसले नै लिनुपर्छ ।

४. हकप्रदको बुक क्लोजपछि तर हकप्रद जारी नभएको अवस्थामा हक अधिकार कायम गरी पुरानो सेयर बेचेको अवस्थामा लगानीकर्तासँग केबल हकप्रद भरेको सेयर मात्र बाँकी हुन्छ । त्यसको लागत पनि १०० रुपैयाँ नै मानिंदा लगानीकर्ताको अस्वभाविक पुँजीगत  लाभ देखिन्छ । अनि घाटमा पनि कर तिर्नुपर्ने अवस्था आउन सक्छ । यसर्थ, बुक क्लोजपछि प्रोभिजनल किता थपेर भएपनि हकप्रदको लागत मिलाउनुपर्छ । 
 
५. सफ्टवेयर औपचारिक प्रयोगमा ल्याउनु मिति अग्रीम घोषणा गर्नुपर्छ । नयाँ प्रविधि भएकाले कुनैबेला लागत अपडेट गर्दा गलत भएमा सच्याउने मौका वा विकल्प दिनुपर्छ ।
 
६. लिलामी सेयर भर्दा लगानीकर्ताको मूल्य फरकफरक हुन्छ । यसको लागत कसरी पत्ता लगाउने वा प्रमाणित गर्ने हो ? त्यो स्पष्ट पारिनुपर्छ । 

यसर्थ, लगानीकर्ताका यी तमाम जिज्ञासलाई समाधान गरी सीडीएसले सफ्टवेयर परिमार्जन गर्न आवश्यक छ । 
 

Post Your Comment