Market Closed

अर्थमन्त्री खतिवडा सहभागी हुने हरेक कार्यक्रममा पुगेर लगानीकर्ताले प्रश्न सोध्ने

19 Sep,2019
  • investroes_img_new_9_19_2019_12_05_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : स्वतन्त्र लगानीकर्ताहरुको समूहले अर्थमन्त्री डा. युवराज खतिवडा सहभागी हुने हरेक सार्वजनिक कार्यक्रममा गएर पुँजी बजार सुधार र विस्तारका बारेमा के–के काम भयो भनेर प्रश्न सोध्ने भएका छन् । पुँजी बजार सुधारका अधिकांश काम पूरा नभएको भन्दै लगानीकर्ताहरुले अर्थमन्त्री खतिवडालाई सार्वजनिक रुपमै दबाब सिर्जना गर्न लागेका हुन् । यसअघि पुँजी बजार तथा मुद्रा बजार सुधारका लागि तयार पारिएको ५८ बुँदा मध्ये अधिकांश काम पूरा हुन बाँकी रहेको लगानीकर्ताहरुको भनाई छ ।

बिहीबार पुँजी बजार विस्तार र विकासका लागि छलफल गर्न तथा दबाब दिन नेप्सेमा भेला भएका स्वतन्त्र लगानीकर्ताहरुको समूहले अब अर्थमन्त्रीलाई सार्वजनिक कार्यक्रममै गएर प्रश्न सोध्ने निर्णय गरेको हो । अर्थमन्त्रीसँग आफूहरुले बारम्बार छलफलका लागि समय माग्दा नदिएपछि उनी सहभागी हुने सार्वजनिक कार्यक्रममै गएर प्रश्न राख्ने निर्णय गरिएको समूहका सदस्य नयन बस्तोलाले नेपाली पैसालाई जानकारी दिए । 


 
लगानीकर्ताका समूह बिहीबार बिहान नेप्सेमा भेला भए पनि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद काठमाडौं उपत्यका बाहिर भएकाले आफूहरुले छलफल गर्न नपाएको बास्तोलाले बताए । सेयर बजार निरन्तर घटेर खरबौं सम्पति नोक्सानी भइसक्दा पनि सरकारले सुधारका लागि कुनै पनि सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरुले एक साता अघि दबाब दिन एक समूह गठन गरेका थिए । उनीहरुले अर्थमन्त्री खतिवडाको बर्खास्त गरिनुपर्ने मागलाई प्राथमिकतामा राखेका छन् । 
 
साथै, अर्थ मन्त्रालयले भदौ महिनाभित्रै यसअघि प्रतिबद्धता गरिएका ५८ बुँदे सुधारका कार्यक्रम पूरा नगरे कडा संघर्षमा उत्रिने लगानीकर्ताहरुले एक साता अघि नै घोषणा गरेका थिए । असोज लागिसक्दा पनि मागहरु भने पूरा भएका छैनन् । माग पूरा नगरिए थप सशक्त आन्दोलनमा उत्रिने समेत लगानीकर्ताहरुको भनाई छ । 
 

Post Your Comment