कर्पोरेट करमा भारी कटौतीपछि भारतीय सेयर बजारमा उछाल, नेपालमा के होला ?

20 Sep,2019
  • sensex_i_9_20_2019_1_55_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार बिहान कर्पोरेट कर घटाउने घोषणा गरेकी छिन् । यस निर्णयसँगै भारतीय सेयर बजारमा उछाल आएको छ । वित्त मन्त्री (अर्थमन्त्री) ले कर्पोरेट करका दरहरूमा भारी मात्रामा कटौती गरेकी छन् । कर्पोरेट क्षेत्रलाई राहत दिन तथा सम्भावित आर्थिक मन्दीबाट मुलुकलाई जोगाउन उनले रणनीतिक हिसाबले करका दरहरु घटाइएको अनुमान गरिएको छ ।

करका दर घटेपछि निजी क्षेत्र उत्साहित हुने तथा पुँजी पलायन हुनबाट समेत जोगिने विश्लेषकहरुले प्रक्षेपण गरिरहेका छन् । यसको सबैभन्दा सकारात्मक प्रभाव सेयर बजारमा परिसकेको छ । कर्पोरेट कर घटाउने घोषणापछि भारतीय सेयर बजार चम्किन थालिसकेको छ ।  शुक्रबार बीएसई सेन्सेक्स १९११.५८ ले बढेर ३८ हजार ५०५ बिन्दुमा पुगिसकेको छ । यस्तै, अर्को स्टक मार्केट इन्डेक्स निफ्टी पनि ५६५.१५ अंकले बढेर ११ हजार २७९.९५ बिन्दुमा पुगिसकेको छ ।

अर्थमन्त्रीले करका दर घटाउने अध्यादेश पारित भइसकेको बताएपछि सेयर बजारमा यस्तो उछाल आएको हो । कर्पोरेट करका दर ३०% बाट घटाएर २२% मा सीमित गरिएको छ । अब अन्य सबै थप करहरु (सरचार्ज) जोडेर कर्पोरेट दर २५.१७% मात्र हुनेछ । सेयर बजारमा विशेष गरी बैंकिङ, अटो लागायतका अन्य समूहमा उछाल आएको छ । अर्थमन्त्रीले भनिन्, घरेलु तथा साना कम्पनीहरूले अब २२% आय कर तिरे पुग्नेछ ।

अक्टोबर १, २०१९ पछि स्थापना हुने उत्पादनमूलक कम्पनीहरुलाई झनै राहत दिइएको छ । यस्ता कम्पनीहरुले जम्मा १५% मात्र आयकर तिरे पुग्नेछ । उनले बजेटमा बढाइएको थप कर (सरचार्ज) फिर्ता लिइएको घोषणा गरेकी छन् । म्युचुअल फन्डमा लाग्ने पुँजीगत लाभकर पनि छुट दिइएको छ । अर्थमन्त्रीले पुँजी बजारमा लगानी बढाउन तथा आम लगानीकर्तालाई उत्साहित गर्न यस्तो निर्णय गरेकी हुन् । बजेटमा व्यवस्था  गरिएको थप कर (एसटीटी) लाई पनि छुट दिइएको छ । 


 
कर्पोरेट कर घटाएपछि भारतीय सरकारको वार्षिक १.४५ लाख करोड रुपैयाँ राजस्व घट्ने छ । तर आयकरको सीमा घटाए पनि पुँजी बजारमा आम लगानीकर्तालाई उत्साहित गर्ने र त्यसबाट सरकारले पाउने लाभकर बढ्ने सरकारको अनुमान छ । पुँजी पलायन हुनबाट जोगाउन, आन्तरिक लगानीकर्ताको मनोबल बढाउन यस निर्णयले ठूलो सहयोग पुर्याउने भारतीय अर्थविद्हरुले उल्लेख गरेका छन् । 
 
छिमेकी भारतमा पुँजी बजारका लगानीकर्ताको आत्मबल बढाउन सरकारले यति गहकिलो निर्णय गर्दा नेपालमा पनि पुँजी बजारका लगानीकर्ताको मनोबल निकै खस्किएको छ । यहाँका लगानीकर्ताले पनि सरकारबाट यस्तै आत्मबल बढाउने कार्यक्रमको अपेक्षा गरिरहेका छन् । तर अहिलेसम्म हाम्रो सरकारले सेयर लगानीकर्ताको आत्मबल उकास्ने कार्यक्रम ल्याउन सकेको छैन ।

भारतीय सरकारको निर्णयबाट प्रभावित भएर हाम्रा अर्थमन्त्री युवराज खतिवडाले पनि लगानीकर्ताको मनोबल उकास्ने यस्तै वा अन्य कुनै प्रकारका कार्यक्रम घोषणा गर्लान त ? लगानीकर्ताले अहिले यस्तै अपेक्षा गरिरहेका छन् । 

(एजेन्सीहरुको सहयोगमा)
 
 

Post Your Comment