Market Closed

जाँदाजाँदै बोर्ड अध्यक्ष कार्कीले पेश गरे आफूले गरेका प्रमुख १० काम

30 Sep,2019
  • Dr-rewat-Bahadur-Karki_9_30_2019_5_46_00.jpg
नेपाली पैसा 

काठमाडौं : धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफ्नो ४ वर्षे कार्यकालमा भएका उपलब्धिहरुको फेहरिस्त प्रस्तुत गरेका छन् । यही असोज महिनासम्म मात्र कार्यकाल बाँकी रहेका कार्कीले जाँदाजाँदै आफूले ४ वर्ष अवधिमा गरेका प्रमुख कार्यहरुको सूची पनि तयार पारेका छन् । कार्की २०७२ कात्तिकमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । प्राथमिक बजारमा आस्वा र सीआस्वा लागू तथा बोरे प्रणाली अन्त्य गरिएको छ । सेयर भर्न घन्टौं लाइन लाग्नुपर्ने प्रणाली निराकरण हुनुलाई ठूलो उपलब्धि रहेको उनले भनेका छन् ।

डिम्याट अनिवार्य गरिनु, बजारलाई पूर्ण अटोमेसनमा लैजानु निकै उपलब्धिमूलक कार्य भएको कार्कीले उल्लेख गरेका छन् । आइपीओ बाँडफाँट अवधि ३ महिनाबाट झारेर एक सातामै गर्न सकिने बनाइएको, सूचीकृत कम्पनीहरुले लाभांश खातामै पठाउने व्यवस्था भएको, देशको ७७ वटै जिल्लामा पुँजी बजार पहुँच पुगेको पनि अध्यक्ष कार्कीले उल्लेख गरेका छन् । 
 
प्रमुख सुधारका १० बुँदा सार्वजनिक गर्दै उनले सबैलाई सेयर दिन आइपीओमा न्यूनतम १० कित्ता पाउने व्यवस्था गरिएको, एफपीओमा नयाँ मापदण्ड तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरिएको स्मरण गराएका छन् । यसबाट प्राथमिक बजार सुधारमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
 
यसैगरी, दोस्रो बजारमा ब्रोकर कमिसन ४०% सम्म कटौती गरिएको, क्लियरिङ बैंक थपिएको, उपत्यका बाहिरबाट पनि लिलामी सेयर भर्न सकिने व्यवस्था मिलाइएको कार्कीले बताएका छन् । लगानीकर्ताका प्रत्यक्ष समस्या समाधान, ब्रोकर र मर्चेन्ट बैंकिङ सेवा विस्तार र सुधार, धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिएको उनको भनाई छ ।
 
यस्तै, खुलामुखी सामूहिक लगानी कोष योजना सञ्चालन, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी तथा हेज फन्ड सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ । सुधारका यी र अन्य थुप्रै कामबाट पुँजी बजार निकै अघि बढ्ने क्रममा छ । सुधारका कामले गति लिएका छन् । कतिपय सुधारका काम पाइपलाइनमा रहेको समेत उनले बताएका छन् । साथै, पुँजी बजारका चुनौती र आगामी दिनमा गर्नुपर्ने कामको विवरण पनि उल्लेख गरेका छन् । 
 

Post Your Comment