Market Closed

भारतीय वित्तमन्त्रीसँग अर्थमन्त्री खतिवडाले गरे यस्तो आग्रह

04 Oct,2019
  • khatiwada_10_4_2019_1_33_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारसँग भारु ५ सय र १ हजारका नोटमा लगाइएको प्रतिबन्धबाट उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन् । भारतले कारोबारमा बन्देज लगाउनु भन्दा पहिले नै नेपालमा मौज्दात रहको भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधान गरिदिन समेत अनुरोध गरेका छन् ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका अर्थमन्त्री डा. खतिवडा र भारतका वित्त मन्त्री निर्मला सितारमण बीच भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन् । भारतबाट नेपाल आउने व्यक्तिहरुले लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा पनि द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत उनले अनुरोध गरे ।

भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरेका छन् । अर्थमन्त्री  डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्था बारे जानकारी गराएका थिए ।

उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमासमेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराए । हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्था बारेमा जानकारी गराए । 

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटी लगानी गर्नका लागि प्रकृया अघि वढेको जानकारी गराए  । अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानी वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गरे । 
 
नेपालको वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।

भारतका वित्त मन्त्री सितारमणले नेपाल–भारत बीचको सम्बन्ध सदियौदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायता बढाउने जानकारी गराइन् । उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताइन् ।
 

Post Your Comment