Market Closed

आफैंले सुरु गरेको कम्पनीबाट सहजै पद छाड्न हिम्मत गर्ने धनाढ्यहरु

06 Oct,2019
  • ceos_9_19_2019_2_10_40_10_6_2019_12_31_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : पदका लागि जीवनभर मरिहत्ते गर्नेहरु पनि थुप्रै हुन्छन् । तर विश्वमा यस्ता धनाढ्यहरु पनि छन्, जसले कम्पनीलाई शून्यबाट शिखरमा पुर्याउँछन् । कम्पनीलाई नाम र दाम दुवै हिसाबले नयाँ उचाईमा पुर्याएर सोही कम्पनीको प्रमुख कार्यकारीबाट विदा लिन्छन् । नेतृत्व सहजरुपमा जुनियरलाई सुम्पिदिने गर्छन् । अनि, कतिपयले चाहिँ जीवनभर कमाएको सम्पतिको अधिकांश हिस्सा दानसमेत गर्छन् । यस्ता धन र मन भएका अर्बपतिहरु बाँकी दुनियाँका लागि पथप्रदर्शक बनिरहेका छन् । 
 
यसैक्रममा हामीले आफैंले स्थापना गरेका कम्पनीबाट राजीनामा गर्ने वा कतिपय अवस्थामा उनीहरुलाई हटाइएका पात्रहरुको खोजी गरेका छौं । आफैंले सुरु गरेको कम्पनीलाई उचाईमा पुर्याएर विदा लिनेमध्येका एक हुन् अलिबाबाका संस्थापक ज्याक मा । यस्तै, एप्पलका संस्थापक स्टिभ जब्स भने आफ्नै कम्पनीबाट बर्खास्त हुनु परेको थियो । यहाँ ज्याक मा र स्टिभ जब्स जस्तै केही धनाढ्यहरुलाई प्रस्तुत गरिएको छ । 
 
१. ज्याक मा (अलिबाबा)  
 
ज्याक माले आफ्नो ५५ औं जन्मदिनको अवसर पारेर अलिबाबाको अध्यक्षबाट राजीनामा दिए । उनले सन् १९९९ मा इ–कमर्स साइट अलिबाबा सुरु गरेका थिए । ज्याकको विदाई कार्यक्रम रक कन्सर्ट जस्तो भएको थियो । विदाई कार्यक्रममा अलिबाबाका हजारौं कर्मचारी उपस्थित भएका थिए । अब समाजसेवा र शिक्षा क्षेत्रलाई अंगालेर बाँकी जीवन बिताउने ज्याक माले बताएका छन् ।
 
२. बिल गेट्स (माइक्रोसफ्ट)  
 
प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सन् २००० मा सीइओबाट राजीनामा दिएका थिए । त्यसबेला उनी ४४ वर्षका थिए । उनले कम्पनी सुरु भएको १४ वर्षपछि अवकाश लिएका थिए । अहिले उनी माइक्रोसफ्टमा सल्लाहकारको भूमिका निर्वाह गरिरहेका छन् । गेट्स अहिले आफ्नो पत्नीले सञ्चालन गरेको बिल एन्ड मेलिन्डा गेट्स फाउण्डेसनमा आवद्ध छन् । यसबाट समाज सेवा गरिरहेका छन् । 
 
३. माइक लाजरिडिस (ब्ल्याकबेरी)  
 
ब्ल्याकबेरी कम्पनीका सह संस्थापक माइकले सन् २०१३ मा पदबाट राजीनामा दिएका थिए । उक्त कम्पनी उनले सन् १९८४ मा सह संस्थापकका रुपमा काम सुरु गरेका थिए । ब्ल्याकबेरी छोडेपछि लाजरिडिसले इम्भेष्टमेन्ट फन्ड सञ्चालन गरेका थिए ।
 
४. ज्याक डोर्से (ट्विटर) 
 
सन् २००८ मा ज्याक डोर्सेको व्यवस्थापन रणनीति सञ्चालक समितिलाई मन परेको थिएन । त्यसैले, सह–संस्थापक डोर्सेलाई अध्यक्षको पदमा मात्र रहन र कम्पनीको कार्यकारी पदको जिम्मा अन्य कसैलाई दिन आग्रह गरिएको थियो । त्यसबेला विलियम्स प्रमुख कार्यकारी अधिकृत (सीइओ) बने । तर, २०१५ मा ३८ वर्षको उमेरमा डोर्से पुनः सीइओ भए र अहिलेसम्म पद सम्हालिरहेका छन् । यसको अर्थ, उनी आवश्यकता पर्दा पद छाड्न तयार रहेको देखिन्छ । 
 
५. ट्राभिस कालानिक (उबर) 
 
सञ्चालनमा आएको ८ वर्षपछि उबरका संस्थापक कालानिकले सीइओको पदबाट राजीनामा दिएका थिए । ४३ वर्षिय कालानिक हाल सिटी स्टोरेज सिस्टमका प्रमुख कार्यकारी छन् ।
 
६. ब्रेन्डन इक (मोजिला) 
 
 मोजिला क्रपका सह–संस्थापक इकले सन् २०१४ मन सीइओको पदबाट अवकास लिएका थिए । यो कम्पनी उनले सन् २००२ मा सुरु गरेका थिए । समलिङी विवाह विरुद्ध उनले धारणा राखेपछि राजीनामा दिन बाध्य भएका थिए । 
 
७. स्टिभ जब्स (एप्पल)
 
स्टिभ जब्स प्रविधि कम्पनी एप्पलका सह–संस्थापक थिए । तर सन् १९८५ मा सञ्चालक समितिमा लफडा भएपछि सीइओ पदबाट जब्सलाई हटाइयो । त्यस लगत्तै उनले ‘नेक्स्ट’ नाम गरेको अर्को कम्पनी सुरु गरे । तर पुनः एप्पलले सन् १९९७ मा उक्त कम्पनीलाई खरिद गरेपछि जब्स पनि एप्पलमा फर्किएका थिए । यी तथ्यहरुले के देखाउँछ भने कतिपयले कम्पनीलाई निकै उचाईमा पुर्याएपछि स्वतःस्फूत रुपमा राजीनामा गरेका थिए भने केहीलाई विभिन्न कारणबाट राजीनामा गर्न बाध्य पारिएको थियो ।

तर अधिकांशले कम्पनीको प्रगतिका लागि पद त्याग्न तयार भएको देखिन्छ । आफैंले सुरु गरेको कम्पनीबाट सहज तरिकाले बाहिरएका घटनाहरु छन् । केहीले काम गर्न सक्ने उमेर हुँदै सक्रिय पद त्यागेर सल्लाहकारका रुपमा भूमिका निर्वाह गरेका देखिन्छ । 
 
(एजेन्सीहरुको सहयोगमा)

Post Your Comment