पुँजी बजारमा देखियो सकारात्मक माहोल

15 Oct,2019
  • billl_s_10_15_2019_3_14_41.jpeg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजार सकारात्मक देखिएको छ । कारोबार रकमसँगै नेप्से सूचक पनि बढेर सुधारको संकेत देखाएको हो । लामो समयदेखि घट्दो क्रममा रहेको बजारले गति लिने अपेक्षामा लगानीकर्ता धैर्य गरिरहेका छन् । सेयर बजारका लागि आवश्यक आधारभूत पक्ष सबल हुँदाहुँदै पनि आम लगानीकर्ताको मनोविज्ञान माथि जान नसक्दा बजारले गति लिन नसकेको हो । यसअघि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा समस्या देखिए पनि त्यसलाई अहिले सीडीएसले समाधान गरिसकेको छ ।

अब सेयर बिक्री गरेपछि ल्याप्चे लगाउन ब्रोकर कम्पनीसम्म धाउनुपर्दैन । मेरो सेयरको प्रणालीबाटै सेयर बेचेपछि भारित औसत लागत निकाल्न र राफसाफमा पठाउन सकिन्छ । यसबाट लगानीकर्ताका लागि ठूलै राहत मिल्ने अपेक्षा गरिएको छ । यसअघि बजार घट्नुमा यही ल्याप्चे प्रणालीलाई सबैभन्दा प्रमुख कारक मानिएको थियो । यो समस्या समाधान भइसकेकाले अब लगानीकर्ताको मनोबल सुधार हुने र बजारले गति लिने अपेक्षा गरिएको छ । 
 
लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम साधारण सभा बोलाइरहेका छन् । लाभांश अनुपात बढेको छ । कम्पनीहरुको नाफा पनि वृद्धि भइरहेको छ । अब चालु आवको प्रथम त्रैमासको वित्तीय विवरण पनि आउने बेला हुँदैछ । कम्पनीहरुले नाफा बढाएको अनुमान गरिएको छ । यी तमाम सकारात्मक पक्षका कारण बजारले विस्तारै गति लिने आशा गर्न सकिन्छ । 
 
पुँजी बजार सुधारका कामहरु भइरहेका छन् । धितोपत्र बोर्डले नीतिगत सुधार पनि गरिरहेको छ । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा सुरु भएको छ । यसबाट लगानीकर्तालाई मार्जिनमा सेयर किन्न सजिलै ऋण मिल्नेछ । यसले बजारलाई उचाईमा पुर्याउन सहयोग पुग्ने विश्लेषण गर्न सकिन्छ । लगानीकर्तामा पनि बजारप्रति सकारात्मक भावना विकास हुन आवश्यक छ । बजार माथि जान्छ भन्ने आत्मविश्वास वृद्धि हुनुपर्छ । 
 
नेप्से सूचक मंगलबार ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा आइपुगेको छ । १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ लाख ६५ हजार ८९७ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये २ वटा समूहका सूचक स्थिर देखिएका छन् भने बाँकी सबै सूचक हरिया बनेका छन् । वाणिज्य बैंक समूहको सूचक ४.५२ अंकले बढेको छ । 
 
कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा छ । यसको ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आरएमडीसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.९३% ले कमाएका छन् । सबैभन्दा धेरै सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ५.८८% ले गुमाएका छन् । 


Post Your Comment