Market Closed

चीनले भन्यो, अन्तिम सम्झौताका लागि अमेरिकाले अतिरिक्त कर हटाउनैपर्छ

18 Oct,2019
  • china_10_18_2019_3_10_57.jpg
नेपाली पैसा

काठमाडौं : अमेरिकाले चिनियाँ सामानमा लगाउने भनेकोे अतिरिक्त कर हटाए मात्रै दुई देशबीच अन्तिम व्यापार सम्झौतामा पुग्न सक्ने चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताएका छन् । चीन–अमेरिकी व्यापार वार्ताका लागि चीनको स्थिति, सिद्धान्त र लक्ष्यमा कहिल्यै परिवर्तन नभएको गाओले पत्रकार सम्मेलनमा बताए । दुवै देशले व्यापार युद्ध छाडेर सहमतिमा आउन अमेरिकाले लगाएको अतिरिक्त कर हटाउनै पर्नेमा उनले जोड दिए । यो चीन र अमेरिका मात्र नभई विश्वकै लागि अत्यन्तै राम्रो हुनेछ, उनले थपे । 
 
दुई राष्ट्रबीच वासिङटन डीसीमा गत हप्ता व्यापारिक वार्ता भएको थियो । उक्त वार्तापछि अमेरिकाले अक्टोबर १ बाट चिनियाँ सामानमा बढाउने भनेको कर हाललाई स्थगित गरिसकेको छ । अमेरिकाले करिब २५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५% देखि ३०% सम्म अतिरिक्त कर लगाउने भनेको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणको वार्ता सफल भएको बताएका छन् ।

यो सम्झौताले बौद्धिक चोरी र वित्तीय सेवा सम्बन्धी विषयमा भइरहका चिन्तालाई सम्बोधन गरेको पनि ट्रम्पले बताए । यस्तै, चिनियाँ पक्षले पनि ४० अर्ब डलर देखि ५० अर्ब डलरसम्म कृषि उत्पादन खरिद गर्ने बारे सम्झौता भएको जनाएको छ । यी २ राष्ट्रबीच विगत १ वर्षदेखि व्यापारिक युद्ध चलिरहेको छ । दुवै राष्ट्रले एक–अर्काको अर्बै डलरको सामानमा अतिरिक्त कर लगाएका छन् ।
 
एजेन्सीहरुबाट 
 

Post Your Comment