नेपालको चरम गरिबी हटाउन विश्व बैंकले सहयोग बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

20 Oct,2019
  • arthamayri-photo_10_20_2019_10_52_56.jpg
नेपाली पैसा
 
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको चरम गरिबी केही वर्ष भित्रमा हटाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्न जरुरी रहेको बताएका छन् । विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले नेपालको प्राथमिकता अनुसार आमजनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्याई गुणस्तरीय जीवनयापन गर्न सक्ने बनाउन पनि विश्व बैंकले सहायता रकम बढाउनु पर्नेमा जोड दिए ।
 
बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा. खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए । 
 
अर्थमन्त्री डा. खतिवडा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यहरुले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी.सी. मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाएका छन् । 
 
उक्त कार्यक्रमको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय संघीयताको कार्यान्वयनका सम्बन्धमा विविध पक्षमा प्रकाश पारे । नेपालमा वित्तीय संघीयताको कार्यान्वयन खास गरी अन्तर सरकारी वित्त हस्तान्तरण तथा राजश्व बाँडफाँट लगायतको विषयमा नेपाल सरकारका सचिव डा. बैकुण्ठ अर्यालले प्रस्तुतीकरण दिएका थिए ।
 
यता, विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंसा गरे । साथै, उनले नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा नेपालले छोटो सयममा वित्तीय संघीयता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंसा गरे ।

Post Your Comment