Market Closed

भारतबाट आउने सामान घट्दा चीनतर्फको बढ्यो

21 Nov,2019
  • Imports-Exports_11_21_2019_3_14_36.jpg
नेपाली पैसा

काठमाडौं : आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा कुल वस्तु आयात १०.३% ले घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार तीन महिनामा ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४३.६% ले बढेको थियो । 
यो अवधिमा भारतबाट हुने आयात १२.२% र अन्य मुलकबाट हुने आयात १९.१% ले घटेको छ । यता, चीनबाटको आयात भने ११.६% ले बढेको केन्द्रीय बैंकले जनाएको छ । 

यता, तीन महिनामा कुल वस्तु निर्यात १४.४% ले बढेर २७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.१% ले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ ३५.८% ले निर्यात बढेको छ भने चीनतर्फको निर्यातमा १९.९% र अन्य मुलुकतर्फ ११.७% ले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहूको निर्यात घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ । यता, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ । 

यता, भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ । 

व्यापार घाटा १२% ले घट्यो

आर्थिक वर्ष २०७६/७७ को तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२% ले घटेको छ । व्यापार घाटा ३ र्ख ७ अर्ब ७८ करोडमा सिमित भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१% पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.४% थियो । 
 

Post Your Comment