नेपाली पैसा
काठमाडौं : सेयर बजारका अनुसन्धानकर्ता दिलीप मुनंकर्मीले सेयर बजारप्रति सरकार नै कताकता अन्योलमा रहेको बताएका छन् । पुँजी बजारलाई कसरी अघि बढाउने भन्नेमा अझै सरकार स्पष्ट हुन सकेको छैन । सोही कारण नीतिगत, कानुनी र व्यावहारिक हिसाबले समेत सेयर बजारले गति लिन सकेको छैन, उनले भने ।
नेपाली पैसाको कार्यक्रम फिन टकसँग कुरा गर्दै उनले भने, ‘सरकारले सेयर बजारबाट पुँजीगत लाभकर खोजेको हो कि ? कर खोजेको हो कि ? अथवा अरु केही खोजेको हो ऊ आफैं अस्पष्ट छ ।’नीति नियम बनाउँदा सरकारले कारोबार पक्षमा बढी केन्द्रित हुने गरेको समेत उनको बुझाई छ । ‘कतिपय अवस्थामा नीति नियम बनाउँदा सेयर कारोबार पक्षलाई नै हेर्ने गरेको देखिन्छ । तर, कारोबारले मात्रै बजार चल्दैन ।’
पुँजी बजार चलाउनका पर्याप्त मात्रामा लगानीकर्ता आवश्यक हुने उनको भनाई छ । सेयर बजारको स्थायित्व र विकासका लागि दीर्घकालीन लगानीकर्तालाई सुविधा दिन आवश्यक रहेको समेत मुनंकर्मीले बताए । यता, सेयर बजार लगातार घट्नुमा लगानीकर्ता स्वयंको पनि उत्तिकै हात रहेको उनी बताउँछन् ।
उनले भने, ‘बजारमा माग भन्दा बढी सेयर आपूर्ति भयो भनिरहँदा, हामी अझै सेयर आपूर्ति बढोस भन्ने चाहन्छौं । यसले पनि बजार घट्न सहयोग पुगेको हो ।’ मुनंकर्मीले कम्पनीको अवस्था, वित्तीय स्थिगि लगायतका सूचकहरु नै नहेरी लगानीकर्ताले हकप्रद, बोनस, आइपीओ लगायतको माग गर्दा त्यसले बजारलाई नकारात्मक असर परेको बताए । सेयर बजारलाई दीगोरुपमा अघि बढाउन लगानीकर्ता साक्षरता आवश्यक रहेको समेत उनी बताउँछन् ।