Market Closed

मेलम्चीको सुरुङ ‘फिनिसिङ’ काम अन्तिम चरणमा

13 Jan,2020
  • melamchi_1_13_2020_5_31_36.jpg
 
 
काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु गरेसँगै तीव्र गतिमा काम अघि बढेको हो । इटालियन निर्माण कम्पनी सीएमसीले काम अलपत्र छाडेर जाँदा सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो । 
 
बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ । उनले भने, “यही गतिमा काम भइरहँदा दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।”
 
आयोजना निर्माणका क्रममा यस अघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनियर पन्तले बताए । अहिले यस आयोजनाको समस्याका रूपमा सीएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुंगो लाग्न बाँकी छ । 
 
सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गराउन तोकिएको अवधिभन्दा छिटो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौता गरेको छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने लक्ष्य लिइएको छ । मेलम्चीको पानी काठमाडौंमा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण पनि अन्तिम चरणमा पुगेको छ । जतिसक्दो छिटो काठमाडौंमा पानी वितरण थाल्ने गरी काम भइरहेको आयोजनाको भनाई छ । 
 
रासस
 

Post Your Comment