Market Closed

आयल निगमको नाफा ८ अर्ब ७५ करोड, २०% लाभांश वितरण गरिने

15 Jan,2020
  • noc_1_15_2020_2_28_20.jpg
 
 
काठमाडौं : कुनै समय चर्को घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष आफ्नो ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा विस्तारै उकालो लाग्न थालेको देखिन्छ । निगमले आर्थिक वर्ष २०७५–७६ मा करिब ८ अर्ब ७५ करोड (कर पछिको) रुपैयाँ मुनाफा आर्जन गरेको छ । निगमले अघिल्लो आवमा पनि ३ अर्ब ५८ करोड नाफा कमाएको थियो ।

यस्तै, अघिल्लो वर्षको तुलनामा यसपटक निगमको कारोबार करिब २५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४–७५ मा कु १ खर्ब ९५ अर्ब रुपैयाँको पेट्रोलियम कारोबार गरेको निगमले गत आर्थिक वर्ष २०७५–७६ मा आइपुग्दा आफ्नो व्यापार बढाएर २ खर्ब ४६ अर्ब रुपैयाँ पु¥याएको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घट्दै जानु, निगमको व्यवस्थापकीय सुधार तथा स्वचालित मूल्य प्रणालीका कारण निगमको वित्तीय स्थिति सकारात्मक दिशातर्फ अग्रसर भएको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । 
 
अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर ३, डिजेलमा ४, हवाई इन्धनमा १० रुपैयाँ नाफा छ भने एलपी ग्यासमा भने प्रतिसिलिन्डर १६२ घाटा रहेको छ । पेट्रोलियम पदार्थ भारतमा भन्दा १८ रुपैयाँले नेपालमा सस्तो छ । निगमले पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टितेल प्रतिलिटर १००, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ बिक्री मूल्य तोकेको छ । 
 
पछिल्लो समय पेट्रोलियम आयात पनि करिब १० प्रतिशतले वृद्धि भएको छ । आव २०७४–७५ मा २६ लाख ७० हजार ८८६ किलोलिटर पेट्रोलियम आयात भएकामा गत आवमा २९ लाख ३८ हजार ९३० किलोलिटर पुगेको छ । निगमले गत आवमा मात्रै सरकारी कोषमा ६५ अर्ब राजश्व दाखिला गरेको छ । अघिल्लो आवमा निगमले करिब ५५ अर्ब रुपैयाँ राजस्व सरकारलाई बुझाएको थियो । 
 
निगमले सरकारलाई बुझाउने करमा भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि करलगायत छन् । फरकफरक शीर्षकमा राजस्वका दर निर्धारण गरिएको छ । पेट्रोलमा प्रतिलिटर ३०.१०, डिजेलमा २२.४०, मट्टितेलमा २.९८, हवाई इन्धनमा १९.१९ र एलपी ग्यास प्रतिसिलिन्डर २१४.८६ रुपैयाँ राजस्व सरकारलाई बुझाउँदै आएको छ । 
 
यसका अतिरिक्त पूर्वाधार विकास कर अन्तर्गत निगमले डिजल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ उठाउँदै आएको छ । सरकारले यो रकम बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी बताएको छ । हालसम्म पूर्वाधार कर बापत ४० अर्ब संकलन भइसकेको छ ।
 
२० प्रतिशत लाभांश वितरण
 
निगमले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ । निगमको ३८औँ साधारण सभाले ११ अर्ब चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको निगमका निमित्त नायब कार्यकारी निर्देशक साहले जानकारी दिए । विभिन्न सात वटा सरकारी निकायको निगममा सेयर रहेको छ ।

नेपाल सरकार, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साबिकको नेसनल ट्रेडिङ लिमिटेड), अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागको सेयर रहेको छ । यसमा नेपाल सरकारको ९९ र अन्य निकायको १ प्रतिशत सेयर हिस्सा छ ।
 
रासस
 
 

Post Your Comment