Market Closed

बैंकको ब्याजदर घट्दैछ ? हेर्नुहोस् बेस रेट

04 Feb,2020
  • interest_ratejpg_2_4_2020_9_01_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : वाणिज्य बैंकहरुको बेस रेट (आधार दर) घट्दै गएको तथ्यांकले देखाएको छ । पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) सहज हुँदै गएको छ । जसका कारण निक्षेपको ब्याजदर घटेको छ । बैंकहरुको निक्षेपको लागत पनि घट्दैछ । जसका कारण बेस रेट तल झर्ने क्रममा लागेको हो । बेस रेट तल झरेपछि कर्जाको ब्याजदर पनि स्वतः घट्छ । पुस मसान्तमा कर, राजस्व लगायतका कारण बैंकिङ प्रणालीबाट सरकारी खातामा ठूलै रकम जाँदा तरलता अवस्था केही कमजोर देखिए पनि अब फेरि विस्तारै यो समस्या समाधान हुँदै जाने अनुमान गरिएको छ । 
 
हालसम्म १८ वटा वाणिज्य बैंकले पुस मसान्तसम्मको आधार दर (बेस रेट) सार्वजनिक गरेका छन् । सार्वजनिक बेस रेट अनुसार १३ बैंकको गत वर्षको भन्दा घटेको छ भने ५ बैंकको मात्र बढेको छ । बेस रेट घटेपछि कर्जाको ब्याजदर पनि घट्ने गर्छ । किने भने बैंकहरुले बेस रेटमा निश्चित प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोक्ने गर्छन् । यसैगरी, केन्द्रीय बैंकले केही समय पहिले नयाँ निर्देशन जारी गर्दै गाडी खरिद लगायतका व्यक्ति कर्जा प्रवाहमा केही कडाई गरेको छ ।

यी क्षेत्रमा अब आफ्नो आम्दानीको ५०% सम्म मात्र ऋण लिन पाइने व्यवस्था गरिएको छ । यस्तो कर्जा लिन कर चुक्ता गरेको प्रमाण पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय क्षेत्रबाट विगतमा सबैभन्दा धेरै कर्जा गाडी, घर जग्गा लगायत क्षेत्रमा प्रवाह हुँदै आएको थियो । यसमा केन्द्रीय बैंकले अब सुक्ष्म निगरानी गर्ने भएसँगै यी क्षेत्रमा जाने कर्जामा सुस्तता आउन थालिसकेको छ । जसका कारण पनि तरलता थप सहज भएको छ ।



ठूला परियोजनामा पनि खासै कर्जा विस्तार हुन सकेको छैन । यसर्थ, पैसा सेयर बजारमा जाने अनुमान कतिपयको विश्लेषण छ । केन्द्रीय बैंकको नयाँ निर्देशनसँगै सेयर बजार सकारात्मक बाटोमा लागिसकेको पनि छ । अधिकांश बैंकहरुले त्रैमासिकरुपमा नयाँ बेस रेट सार्वजनिक गर्छन् । नयाँ बेस रेट आएसँगै ब्याजदर पनि परिवर्तन हुने गर्छ । बेस रेटमा बैंकको आवश्यकता र क्षमतालाई आधार मानेर त्यसमा केही प्रतिशत प्रिमियम थपी कर्जाको ब्याजदर निर्धारण गरिन्छ ।
 
ब्याजदर घट्न थालेपछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । सस्तो ब्याजमा कर्जा पाइने भएकाले लगानीकर्ता सेयर बजारतिर आकर्षित हुन थाल्छन् । यस्तै, निक्षेपमा कम ब्याज पाइन थालेपछि निक्षेपकर्ता पनि बैंकमा पैसा राख्नुभन्दा सेयर बजारमा लगानी गर्न उत्साहित हुने गर्छन् । अहिले एकातिर घर तथा हायर पर्चेज कर्जामा कडाई गरिएको छ भने अर्कोतिर सेयर धितो कर्जामा ६५% सम्म ऋण लिन पाइने व्यवस्था छ । यसबाट आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरुले सेयर कर्जालाई थप प्राथमिकता दिने अनुमान भइरहेको छ ।
 
१८ बैंकको नयाँ ब्याजदर सार्वजनिक, १३ को घट्यो
 
१८ वाणिज्य बैंकले पुस मसान्तको बेस रेट सार्वजनिक गरेका छन् । सार्वजनिक बेस रेट अनुसार १३ वटाको घटेको छ भने ५ वटाको बढेको छ । यी बैंक मध्ये सबैभन्दा थोरै बेस रेट नेपाल बैंकको रहेको छ । नेपाल बैंकको बेस रेट ७.८२% रहेको छ । तसर्थ, सबैभन्दा सस्तो ब्याजदरमा ऋण यही बैंकबाट पाइन्छ । यद्दपि, नेपाल बैंकको बेस रेट गत वर्षको भन्दा १.७६% ले बढी हो । यसपटक बेस रेट बढ्ने बैंकमा नबिल, नेपाल एसबीआई, प्रभु र एनआइसी एसिया रहेका छन् । यता, सबैभन्दा धेरै बेस रेट भने सिभिल बैंकको १०.९८% छ । 
 

Post Your Comment