Market Closed

कालीगण्डकी जलविद्युतगृह मर्मत हुँदै, सोमबार साँझसम्म बन्द हुने

21 Feb,2020
  • kaligandaki_a_2_21_2020_12_13_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि सोमबार साँझसम्म बन्द हुने भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि  बिहीबार राति ११ बजेबाट विद्युत उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो । दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार (१२ फागुन) साँझ ५ बजेसम्म बन्द रहने छ । 
 
स्याङजाको मिर्मीमा रहेको विद्युतगृहमा ४८–४८ मेगावाटका ३ युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत उत्पादन बन्द भएको हो । केन्द्रबाट उत्पादित विद्युत पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ । मुलुककै ठूलो विद्युतगृहबाट बिजुली उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले विद्युत आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको विदालाई ध्यान दिएर मर्मत सुरु गरिएको प्रष्ट पारे । ‘विदाको दिन विद्युतको माग (लोड) कम हुने भएकाले यही बेला पारेर मर्मत गर्दैछौंैं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युतगृहबाट पनि बिजुली उत्पादन केही बढेको छ । आम उपभोक्तालाई विद्युत आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोबस्ती गरेका छौं । तर बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत कटौती हुनसक्छ’, उनले भने । 
 
बिहीबार राति १० बजेबाट सुरुङमा रहेको पानी खाली गराउन सुरु गरिएको र यो काम शुक्रबार राति १० बजेसम्ममा सकिने विद्युतगृहका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । ‘त्यसपछि मर्मत सुरु हुन्छ । सोमबार साँझ ५ बजेभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ २४ सै घण्टा काम गरिरहेका छौैं’, गौतमले भने । मर्मतमा ३७ जना प्राविधिक खटिएका छन् । 
 
 
 
 
 

Post Your Comment