Market Closed

सेयर बजारमा ३ अर्ब ६० करोड कारोबारसहित नयाँ रेकर्ड बन्दा ९ कम्पनीमा यस्तो भयो

23 Feb,2020
  • nepse_1_2_23_2020_5_51_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : एकै दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर नयाँ कीर्तिमान कायम गरेको नेप्सेमा आइतबार थुप्रै कम्पनीमा भाउ बढेर सर्किट ब्रेकर पनि लागेको छ । पछिल्लो समय बजारमा दिनहुँ नयाँ रेकर्डहरु बनिरहेका छन् । कारोबार रकमले नयाँ छलाङ मारेको छ । नेप्से सूचकले पनि नयाँ–नयाँ उचाई बनाइरहेको छ । अर्थात् बजारमा रेकर्डमाथि अर्को नयाँ रेकर्ड बनाउने काम भइरहेको छ ।

आइतबार बजारमा अर्थमन्त्री परिवर्तन हुने हल्ला फैलिंदा लगानीकर्ता अत्याधिक उत्साहित भएको देखिन्छ । राष्ट्रपतिबाट राष्ट्रिय सभामा खतिवडाको सट्टा बामदेव गौतम मनोनीत हुने समाचार सार्वजनिक भएपछि नेप्सेमा उछाल देखिएको छ । यसैक्रममा यस दिन १०% ले भाउ बढ्दा ९ कम्पनीमा सर्किट ब्रेकर लागेको छ । अन्य थुप्रै कम्पनीको भाउ पनि मज्जाले बढेको छ । 
 
बजारले नयाँ रेकर्ड राख्ने गरी कारोबार हुँदा ४ वाणिज्य बैंक, ४  लघुवित्त र १ फाइनान्स कम्पनीमा भाउ बढेर सर्किट लागेको हो । नेप्सेले कम्पनीहरुको भाउ १०% बढेपछि त्यसभन्दा माथि जान नदिन सर्किट ब्रेकर लगाउने गर्छ । यसरी १०% भाउ घट्दा पनि सर्किट लगाउने चलन छ । पछिल्लो समय बैंकमा तरलता सहज भएको छ । ब्याजदर घट्ने क्रम सुरु भएको छ ।

सोही कारण बैंकहरुले खोजीखोजी सेयर धितो कर्जामा ऋण प्रवाह गर्न सुरु गरेका छन् । बजारको वियरिस यात्रा पनि समाप्त भएको छ । सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको नाफा औसतमा बढेपछि लगानीकर्ता थप उत्साहित भएका हुन् । पुँजी बजारमा लगानीकर्ताको मनोबलको पनि निकै बृहत भूमिका रहने गर्छ । 

Post Your Comment