Market Closed

सेयर बजारमा फेरि रेकर्ड ब्रेक, नेप्से १६३२ मा पुग्दा ४ अर्ब ४६ करोडको कारोबार

27 Feb,2020
  • bull_m_2_27_2020_3_19_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारले दिनहुँ नयाँ उचाई लिन थालेको छ । यसैक्रममा बिहीबार पनि बजारले १६ सय विन्दुको अर्को रेखामा प्रवेश गरेको छ । बैंकिङ समूहले नेतृत्व गरेसँगै बजार अर्को नयाँ विन्दुमा प्रवेश गरेको हो । बिहीबार कारोबार खुलेपछि पहिलो प्रहरमा निकै नेप्से अस्थिर देखिएको थियो । करिब ३८ अंकले बजार घटेपछि बल्ल यसले उकालो यात्रा सुरु गरेको हो । त्यसपछि पनि केहीबेर उतारचढाव आउने क्रम जारी रह्यो । त्यसपछि मात्र बैंकिङ समूहले नेतृत्व गरेसँगै नेप्से नयाँ विन्दुमा पुगेको हो ।

यससँगै खरिदबिक्री रकमले बिहीबार फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेप्सेमा बिहीबार अहिलेसम्मकै उच्च कारोबार भएको हो । सेयर बजारमा कारोबार रकमले आम लगानीकर्तालाई निकै उत्साहित बनाउँदै लगेको छ । नेप्से दिनहुँ नयाँ उचाईमा पुगिरहँदा खरिदबिक्री रकमले पनि सोही अनुसार सपोर्ट गर्दै गएको हो । लगानीकर्ता उत्साहित हुँदा सेयर कारोबार रकमले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । 
 
विशेष गरी नेप्सेले १६ सयको विन्दु पार गरेपछि बजारमा नयाँ उमंग थपिएको हो । सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । यतिबेला सर्वसाधारण लगानीकर्ता बजार सुधारप्रति निकै उत्साहित भइरहेका छन् । सोही कारण बजारले दिनहुँ नयाँ उचाई लिंदै गएको हो । सेयर बजार सुधारका लागि सरकारले पनि काम गरिरहेको छ ।
 
नीतिगत, प्राविधिक तथा मनोवैज्ञानिक हिसाबले समेत बजारमा सकारात्मक प्रभाव पार्ने कामहरु भइरहेका छन् । यसले पनि आम लगानीकर्ता उत्साहित भएका हुन् । यसबाहेक करिब ४२ महिनासम्म निरन्तर बजार तल झर्दा आम लगानीकर्ताले खरबौं रुपैयाँ गुमाएका थिए । बजारमा सेयर भाउ निकै सस्तो भएको थियो । यही मौकामा बजारमा अनुभवी लगानीकर्ताको प्रवेश भएको हो । 
 
ब्रोकरहरुका अनुसार यतिबेला बजारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीनै किसिमका लगानीकर्ता हावी भइरहेका छन् । अल्पकालीन खरिदबिक्रीकर्ताले दैनिक कारोबारलाई नयाँ उचाईमा पुर्याउन सहयोग पुर्याइरहेका हुन्छन् भने मध्यकालीन र दीर्घकालीन लगानीकर्ताले पनि होल्ड गर्ने हिसाबले सेयर खरिद गरिरहेका फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरु बताउँछन् । 
 
बजार बढिरहँदा आम लगानीकर्ता संयमित हुन जरुरी छ । नेप्से एकोहोरो हिसाबले बढ्ने वा घट्ने मात्र गर्दैन । वित्तीय सूचकहरु अध्ययन गर्दै अघि बढ्नुपर्छ । कम्पनीको वित्तीय क्षमता, नाफा, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी लगायतका सूचकहरुलाई पनि ध्यान दिनुपर्छ । नेप्से सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



१ करोड ८ लाख ५९ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । वाणिज्य बैंक, विकास बैंक र उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै २१३.३९ अंकले घटेको छ । जीवन बिमा समूह पनि १६४.६३ अंकले ओरालो लागेको छ । कारोबार रकममा नेपाल लाइफ अग्रस्थानमा छ । 

यसको २८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यता, एनआइसी एसिया बैंक र एनएमबि बैंक कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा परेका छन् । यस दिन एभरेष्ट बैंक, एसबीआई बैंक, हिमालयन बैंक तथा नबिल बैंकको १०% ले भाउ बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावरको भाउ ६.७१% ले घटेको छ । 


Post Your Comment