Market Closed

कसरी लड्ने अब कोरोना पछिको आर्थिक लडाइँ ?

11 Apr,2020
  • kedhsv_4_11_2020_5_01_30.jpg
डा. केशव श्रेष्ठ
 
 
काठमाडौं : विश्वसँगै नेपाल पनि अहिले कोरोना भाइरससँग जुधिरहेको छ । करीब ३ हप्ताको लक डाउन हामीले पार गरेका छौं । पछिल्ला दिनहरुमा थप संक्रमण नहुनुको खुसी देखिंदैछ तर पनि संभाव्य अनिष्टको डर टरिसकेको छैन । विकराल माहामारीसँग लड्न कमजोर सरकारी संयन्त्र र प्रयासहरुबीच कमिसनको लोभ पाप छताछुल्ल हुन भ्याएको छ । सामाजिक सञ्जाल पक्ष–विपक्षका तर्कहरुले तात्ने र सेलाउने क्रम जारी छ ।

हुनेखानेहरु सन्त्रासमै भए पनि आराममा छन् । आफ्नै घरभित्र बस्न र खान पाउने भाग्यमानीहरु कोही सिर्जनशीलतातिर लाग्न भ्याएका छन् त कोही बन्दाबन्दी अन्त्यको प्रतीक्षारत छन् । हुँदा खानेहरु कोरोनाको सन्त्रासले भन्दा पनि भोकको ज्वालाले आत्तिएका छन् । भोकलाई जित्न नेपालीहरुले सयौं किलोमिटरको पैदल यात्राको रेकर्ड राखिदिएका छन् र बहादुर नेपालीहरुको संघर्षशील कथा, जुझारु जीवनशैली र जीजीविषाको अभ्यस्त सिपाहीको परिचय दिएका छन् । 
 
विश्व परिवेशले अर्थ राजनीतिक कोल्टे फेर्ने संकेत दिएको छ । कोरोनाको अभिशापलाई चिर्दै चीन व्यापारको भल छोप्नेतिर अग्रसर भइसकेको छ । लामो अर्थ राजनीतीक दौडको यात्रारम्भ गरिसकेको चीनले भावी अग्रणी विश्वशक्ति बन्ने छनक विश्वसामू सहयोगी हातसहित विनयी प्रस्ताव गर्न पनि भ्याइसकेको छ । कोरोनापछिको नेपाली अर्थतन्त्रको परिदृश्य खोतल्नु अहिलेको मौसम अनुसारको बाजा नहोला तर यसको चिन्तन सुरु गर्ने राम्रो बेला अहिले नै हो । कुनै पनि कुरा पहिला नै “अति जरुरी” को ट्याग लगाएर आउँदैन ।

जब आत्यावश्यक महत्वको कुरा समयमै गर्न सकिन्न् तब त्यो कुरा समय गुज्रेपछि इमर्जेन्सीको दर्जा लिएर आउँछ । कोरोनाको हकमा पनि यो कुरा पुष्टि भयो नै । हामीले सतर्कता र लक डाउन, आवश्यक सामाग्री र परीक्षण किटहरुको तयारीमा केही ढिला सोचेकै हौं । सोच्न ढिला हुनु भनेको जित्न ढिला हुनु हो । हरेक लडाईं पहिला सोचाइमा लडिन्छ, अनिमात्र मैदानमा लडिन्छ । नेपालमा अहिलेको कोरोना महामारीको संकुचन नेपालको स्वास्थ्य सेवा व्यवस्थापन भन्दा पनि नेपालको सामाजिक, भूराजनीतिक अवस्था र नेपालीहरुको सामुदायिक संस्कार, सचेतना र सक्रियताले भइरहेको देखिन्छ । 
 
कोरोनाको महामारी रहुन्जेल त मृत्युको डरलाई जित्नु नै मुख्य कुरो हो । आर्थिक कुराहरु यतिबेला दबिएको हुन्छ नै । तर जुनबेला मुलुक कोरोनाबाट तंग्रिन्छ, आर्थिक अव्यवस्था र भोकमरीले भीमकाय मुख बाएर पक्कै आउनेछ । कोरोनालाई बहादुरीपूर्वक जितेका नेपालीहरुले भोमकरीबाट मर्नुपर्ने दिन नआओस् । यो कुरा नेपालको राज्य संयन्त्र र नीति निर्माताहरुले बेलैमा सोच्नु जरुरी छ । अर्थात् आगामी आर्थिक लडाँइको खाका मानसपटलमा कोर्नु जरुरी भइसकेको छ ।
 
भनिन्छ, हरेक बादलमा चाँदीको घेरा हुन्छ । कोरोनाको कहाली आफैंमा नकारात्मक त हुँदै हो, ता पनि यसले आर्थिक क्षेत्रमा राम्रा कुराहरु पनि ल्याउनेछ । विप्रेषणमा आधारित हाम्रो अर्थव्यवस्था आखिर कुनै न कुनै दिन यसको दुश्चक्रबाट निस्कनै पर्ने थियो । विप्रेषणमा आधारित अर्थतन्त्रले सबल, सक्षम मुलुक निर्माण गरेको विश्वको इतिहासमा कतै पाइदैंन । आज लाखौं नेपालीहरु भारत तथा तेस्रो मुलुकबाट नेपाल फर्केका छन् ।

कोरोनाको सन्त्रास सकिएपछि उनीहरु कति फेरि विदेश फर्केलान् कति नफर्केलान् त्यो अहिल्यै यकिन गर्न नसकिएला । फर्कन चाहेपनि रोजगारदाता मुलुकको अवस्था त्यतिवेला कस्तो रहला ? ती देशहरुले पहिलेको जस्तै विदेशी कामदारहरुलाई ह्वारह्वार्ती प्रवेश देलान् वा नदेलान ? विदेश फर्कन नचाहनेलाई मुलुकमै रोजगार दिने वा फर्कन चाहनेलाई पनि रोजगारीको मुलुकमै अवसर छ भन्ने सोच्न बाध्य बनाउने हो भने आजबाटै सोच्नु र गृहकार्य गर्न जरुरी छ । होइन भने नेपाल कालान्तरसम्म सन्तान मात्रै जन्माउने र अर्काको लागि हरुवा चरुवा उत्पादन गर्ने धब्बायुक्त मुलुक रहिरहनेछ ।
 
अर्थतन्त्रका विविध आयामहरु रहन्छन् जसमध्ये यहाँ चर्चा गर्न खोजिएको नेपाल बाहिरबाट हाल बाध्यतावश मुलुक फर्किएका जनताहरुको पुनः विदेश पलायन कसरी रोक्ने, तिनको सीप, जाँगर र अनुभवलाई कसरी उद्यममा परिणत गर्ने भन्ने हो । युवाहरुको विदेश पलायनले ल्याएको सामाजिक, साँस्कृतिक र मानसिक विचलन रोक्न, समृद्ध मुलुक बनाउन कतै कोरोनाले हामीलाई भविष्यमा दिन खोजिरहेको अनुपम उपहार त होइन ? नेपाल भौगोलिक दृष्टिले विविधतायुक्त मुलुक मात्रै होइन स्थानीय साधन स्रोतहरुले भरिपूर्ण मुलुक पनि हो । अहिले कृषि तथा स्थानीय स्रोेत साधनमा आधारित उद्यमहरुको सम्भाव्यता अध्ययन गर्न सकिन्छ । 

स्थानीयस्तरमा रहेका राजनीतिक संयन्त्रको वैकल्पिक परिचालन गरेर स्थानीयस्तरमा के कस्ता उद्यमहरुको स्थापना गर्न सकिन्छ, कति जनालाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिन सकिन्छ भन्ने सम्भावनाहरु केलाउन सकिन्छ । कोरोनामाथिको विजयपछि क्षुद्र राजनीतिका स्वार्थसिद्धि गर्नेखालका टुक्रे, कनिके योजनाहरुमा छरिने राज्यको पुँजी ठूला योजनाहरुमा लगानी गर्ने र स्थानीयहरुलाई रोजगारी दिएर स्वाभिमानी जीवनयापनमा उद्यत गराउन सकिन्छ ।

“एक जिल्ला, एक ठूलो उद्यम” को परिकल्पनाकासाथ अघि बढ्ने र एक जिल्लामा सुरुवातका कम्तीमा १० हजार जनालाई औसतमा प्रत्यक्ष अप्रत्यक्ष रोजगार दिने हो भने पनि करिब ८ लाख नेपालीहरु विदेश पलायन हुनबाट रोकिनेछन् । विस्तारै तिनले विदेशबाट सिकेर ल्याएको सीप, उद्यम, चिन्तनलाई थप व्यासायीकरण गर्दै जाने अवसरका ढोकाहरु पनि त्यसपछि विस्तारै खुल्दै जानेछन् । यहाँनेर प्रश्न मुलुकको आर्थिक सक्षमताको पनि आउला । नेपालमा पुँजी निर्माणमा समस्या हिजो पनि थिएन र रहनेछैन पनि । नेपालमा सामाजिक तहबाट पुँजी निर्माण हुन नसक्नुमा यावत् कारणहरु होलान् तर मूल कारण चाहिं साँघुरो राजनीतिक सोच र चिन्तन नै हो ।

सरकारले होस्टे गरेका पुँजी निर्माणका योजनाहरुमा जनताहरुले अदम्य उत्साहका साथ हैंसे गरेका छन् । यो कुरा हाम्रो पुँजी बजारको इतिहास हेर्दा प्रष्ट हुन्छ नै । सरकारले १ रुपैयाँ माग गर्दा जनताले १० रुपैयाँ  दिन तम्तयार भएर देखाइदिएकै छन् । यहाँ रोकावट छ त केवल पुँजी बजारमैत्री नीति, पदमा बसेकाहरुको संकीर्ण सोच र जागिरे मानसिकताको मात्र छ । यहाँ इंगीत गर्न खोजिएका मानसिकता र प्रवृत्तिबारे कुनै बेला बेग्लै चर्चा गरौंला ।
 
स्थानीयस्तरमा व्यावसायिक संयोजनको लागि अहिले प्रदेश र स्थानीयस्तरमै सरकार छ । आर्थिक उद्यममा आवश्यक कुराहरुको स्थानीय तहमै संयोजन गर्न सकिन्छ । कोरोना अवधिपश्चात् आर्थिक उपार्जनमा जनता र सरकार, नेतागणहरु एक्यबद्ध छन् । र, मुलुकमै आर्थिक योगदान गर्न सकिन्छ, मुलुकको आर्थिक स्तरोन्नति गर्न सकिन्छ । विदेश पलायन र विप्रेषण त अल्पकालीन र अस्थायी हो भन्ने सन्देश राज्यले दिन ढिला भइसकेको प्रतीत हुन्छ ।
 
(जनतासँगको सहकार्यमा राज्यले गर्नसक्ने पुँजी निर्माणको खाकाचित्र अर्को आलेखमा)
 

Post Your Comment