Market Closed

नेपालमा निर्माण भएको कोरोना खोपमा डब्ल्युएचओले गर्यो छलफल

05 Jun,2020
  • who-logo1_6_5_2020_10_24_07.jpg
 
 
हेटौंडा : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा निर्माण गरिएको कोरोनाको औषधि तथा प्रयोगशाला सम्बन्धमा गहिरो चासो राखेको छ । अध्ययन संस्थानका प्रा. डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा. दासले जानकारी दिए । 

यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा. दामोदर गैरेको सहयोगमा  डब्ल्युएचओमा लिखित जानकारी पठाइएको थियो । त्यसपछि छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा. दास समूहलाई छलफलमा बोलाइएको हो ।
 
करिब २ घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधिका विषयमा प्रश्न सोध्नुका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा. गैरेले जानकारी दिए ।  “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोप परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्यांकनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा. गैरेले भने । 
 
उक्त खोपको परियोजना स्वीकृत भएमा ५ लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुनेछ  । प्रा. डा. दासले २ महिनादेखि कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरिएको जिकिर गरेका छन् । 
 
रासस
 

Post Your Comment