Market Closed

ब्याज र ऋणको विषय मौद्रिक नीतिले सम्बोधन गर्छ : अर्थमन्त्री

29 Jun,2020
  • khatiwadaa_6_29_2020_2_52_21.jpg
नेपाली पैसा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजको पुँजीकरणदेखि ऋणको साँवा भुक्तानीको समय थप गर्ने विषयमा विशेष व्यवस्था गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले मौद्रिक नीतिबाट आवश्यक सुविधा प्रदान गर्न केन्द्रीय बैंकलाई सुझाब दिइएको बताए । साथै, उनले असार १ देखि लक डाउन खुकुलो पार्दा अर्थतन्त्रले ८०% लय समाते बताएका छन ।

लक डाउन खुकुलो पार्दा भन्सार महसुल र आन्तरिक राजस्व संकलनको गति बढेको उनले बताए । ‘हामीले लक डाउन खुकुलो बनाएपछि आर्थिक गतिविधिमा वृद्धि भएको छ,’ उनले भने, ‘यदि साउनबाट आवत–जावतमा थप सहज बनाए आगामी आर्थिक वर्षमा ७% को आर्थिक वृद्धि सहज हुनेछ ।’ आगामी आर्थिक वर्षका लागि ७% आर्थिक वृद्धि औसत मात्रै भएको मन्त्री खतिवडाको भनाइ छ ।  

खतिवडाले कर तिर्ने विषयमा विगतमा जस्तो समस्या अहिले नरहेको पनि उल्लेख गरे । ‘कर अनुमानयोग्य हुन्छ, कर प्रणालीले काम गर्छ,’ उनले भने, ‘अब व्यक्तिले होइन, प्रणालीले काम गर्छ । अहिले तपाईंहरूले कर प्रणालीको विषयमा खासै समस्या देखाउनु भएको छैन, त्यसको कारण यही हुन सक्छ ।’

मन्त्री खतिवडाले सरकारले निजी क्षेत्रलाई बजेटमार्फत दिएको राहतले ७० अर्ब रूपैयाँ बराबरको दायित्व सिर्जना गरेको बताए। उनले सरकारमाथि दायित्व बढे पनि निजी क्षेत्रलाई साथमा लैजान सरकारले आवश्यक काम गरेको उल्लेख गरे । ‘तपाईंहरूलाई हामी सर्भाइभ गर्न सहयोग गर्छौं, रिकभरीमा हामीलाई तपाईंहरूको साथ चाहिएको छ,’ उनले भने ।  
 

Post Your Comment