Market Closed

सेयर बजार किन यति साह्रो अस्थिर, राजनीति हो त कारण ?

02 Jul,2020
  • bull-vs-bear_7_2_2020_1_15_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार निकै अस्थिर देखिएको छ । बजार खुलेको ४ दिनको प्रवृत्ति अध्ययन गर्दा निकै नेप्से अस्थिर रहेको देख्न सकिन्छ । पहिलो दिन सोमबार बजार खुलेको पहिलो प्रहरमा बेस्सरी घटेको नेप्से अन्तिम बेलामा सम्हालिएको थियो । यद्दपि, त्यस दिन नेप्से सूचक घटेरै बन्द भएको थियो । तर दोस्रो र तेस्रो दिन फेरि बजार अस्वभाविक हिसाबले वृद्धि भयो । फलस्वरुपः नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको थियो । फेरि बिहीबार बजारमा नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ । यसले बजारले निश्चित गति समाउन नसकेको प्रष्ट भएको छ ।

बिहीबार बजार बेस्सरी तल झर्नुमा राजनीतिक अस्थिरतालाई पनि प्रमुख कारण मानिएको छ । सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चर्किएको छ । प्रधानमन्त्री केपी ओली र अन्य शीर्ष नेताहरुबीच पार्टी र सरकारको नेतृत्व कसले सम्हाल्ने भन्ने विवाद चर्किएको छ । यसले राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको छ । यस कारण पनि सेयर बजारका लगानीकर्ता हतोत्साहित भएको विश्लेषण हुन थालेको छ । यसबाहेक २ दिन बजार सर्किट लागेर कारोबार नै रोकिने गरी बढेको थियो ।

बढेको बजारमा बिहीबार एकाएक बिक्रेता हावी हुँदा पनि बजारमा दबाब परेको हो । २ दिन बजार बढ्नुमा आपूर्ति कम हुनुलाई पनि प्रमुख कारण मानिएको थियो । नेप्सेको अनलाइन सिस्टम नट्सबाट लगानीकर्ताले सजिलै सेयर बिक्री गर्न पाएका थिएनन् । जसले गर्दा पनि आपूर्ति रोकिएको कतिपय लगानीकर्ताको भनाई रहेको छ । यस्तै, बजार तल्लो विन्दुमा रहेकाले पनि भाउ सस्तो हुँदा लगानीकर्ता उत्साहित भएको भन्नेहरु पनि थिए । तथापि, बिहीबारको बजार फेरि अस्थिर भएको छ ।

अब राजनीति कता मोडिन्छ त्यसले पनि सेयर बजारको भविष्य निर्धारण गर्न सक्ने अनुमान गरिएको छ । कतै प्रधानमन्त्रीले संसद विघटन गर्ने हुन कि भन्ने आशंका पनि गरिएको छ । यसले पनि लगानीकर्ता त्रसित भएका हुन् । आगामी दिनमा राजनीतिक गतिरोध अन्त्य भएमा फेरि लगानीकर्ताको मनोबल सुधार हुन सक्नेछ । सरकार तथा नियामकले बजार सुधारका काम अघि बढाएको छ । केन्द्रीय बैंकले पनि मौद्रिक नीतिमार्फत सेयर बजारलाई सम्बोधन गर्ने भनिसकेको छ । यस्तो अवस्थामा लगानीकर्ता हतोत्साही हुनुपर्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । 


 
बिहीबार नेप्से सूचक ८०.४१ अंकले घटेको छ । नेप्से सूचक १२५६.११ विन्दुमा आइपुगेको छ । १४२ कम्पनीको ४७ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १० लाख ६१ हजार ८९० कित्ता सेयर खरिदबिक्री भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment