Market Closed

सेयर बजारले थप्यो उत्साह

06 Jul,2020
  • Bull-market_7_6_2020_3_16_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा आशातीत सुधार भएको हो । पछिल्ला कारोबारहरुले बजार क्रमशः सकारात्मक बाटोमा लागेको देखाउँछ । बजार तलमाथि गरिरहन्छ । निरन्तर बढ्ने वा घट्ने भन्ने होइन । तर अस्वभाविक उतारचढावबाट बजार सुरक्षित छ वा छैन भन्ने प्रमुख विषय हो । कोरोना त्रास र यसले उत्पन्न गरेको लामो लक डाउनका कारण आम लगानीकर्ता त्रसित हुनु स्वभाविकै हो । यस्तो बेला खुलेको बजार कता जाने हो भन्ने आम लगानीकर्तामा तीब्र उत्सुकुता थियो ।

कतै बजार निकै तल झर्ने त होइन भन्ने पनि सर्वत्र त्रास थियो । तर पछिल्ला दिनहरुको कारोबारले त्यसलाई केहीदसम्म न्यूनीकरण गरिदिएको छ । तर यसको अर्थ, बजार अब घट्दैन भन्ने होइन । घटबढ बजारको सामान्य नियम हो । साथै, बजारको गति र प्रवृत्तिका बारेमा कसैले ठोकुवा गर्न पनि सक्दैन । तर पछिल्ला कारोबारहरुले बजार तलमाथि गरिरहे पनि दीर्घकालीन यात्रा भने माथितिरकै हुने संकेत गरिरहेको छ । त्यसो त कतिपय लगानीकर्ताहरुले सजिलैसँग सेयर कारोबार गर्न नपाएको गुनासो पनि गरिरहेका छन् ।

प्रणालीमा गरिएको नयाँ व्यवस्था, एक ब्रोकर तथा एक डिम्याट, कारोबार सीमा, अग्रीम लिमिट लगायतका कारण पनि सूचक वृद्धिमा केही सहयोग पुगेको हुन सक्ने कतिपयको तर्क छ । तर जुनसुकै हिसाबले सुधार भए पनि यसले सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान सुधार्न सहयोग पुगेको छ । यतिबेला वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । ब्यजादर सस्तो हुँदैछ । अनि, तत्काल लगानी गरिहाल्ने अन्त्र क्षेत्र खासै देखिंदैनन् ।

जसका कारण पनि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुने अनुमान गरिएको छ । तर यही बेला समग्र अर्थतन्त्रको अवस्था, सूचीकृत कम्पनीहरुको कमाई, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायतमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेप्से सूचक सोमबार ३३.२७ अंकले बढेर १२९८.७३ विन्दुमा आइपुगेको छ । बजार २.६३% ले वृद्धि भएको हो । १७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ लाख ३१ हजार ४९८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।



म्युचुअल फन्डबाहेक कारोबार भएका सबै समूहको सूचक बढेको छ । जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै २६६.४३ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि २१.२९ अंकले बढेको छ । ग्लोबल आइएमई लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतका कम्पनीको भाउ १०% ले बढेको छ । यता, राधि जलुविद्युतको भाउ सबैभन्दा धेरैले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै १४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

 

Post Your Comment