Market Closed

तलमाथि गर्दागर्दै अन्ततः दोहोरो अंकले बढ्यो नेप्से

09 Aug,2020
  • bull_nsears_8_9_2020_3_17_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से आइतबार दोहोरो अंकले माथि लागेपछि लगानीकर्ता केही उत्साहित देखिएका छन् । विशेषगरी कारोबारको अन्तिम प्रहरमा सूचकमा सुधार देखिने क्रम सुरु भएको हो । पछिल्ला दिनहरुमा बजारले अपेक्षा अनुसार गति लिन सकिरहेको थिएन । विशेषगरी कोरोना त्रासका कारण सर्वसाधारण लगानीकर्ता त्रसित बनेका हुन् । यससँगै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण कस्तो आउँछ भनेर पनि लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको अनुमान गरिएको थियो ।

तर गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण आउने क्रम सुरु भएको छ । कतिपयले सूचीकृत कम्पनीहरुको वित्तीय विवरण औसतमा आउन सक्ने अनुमान गरिरहेका छन् । केहीले भने कम्पनीहरुको नाफामा कोरोनाका कारण यसअघि जारी लक डाउनले असर पुर्याएको हुन सक्ने आँकलन पनि गरेका छन् । यसरी लगानीकर्ता अन्योलमा परेकाले पनि नेप्से अस्थिर बनेको हो । 
 
तर बजार निरन्तर घट्दा अधिकांश कम्पनीहरुको सेयर भाउ सस्तो भइसकेको अवस्था छ । सस्तो भाउमा विस्तारै लगानीकर्ता आकर्षित हुने अनुमान गर्न छ । केहीले भने कोरोना प्रभाव कतिसम्म पर्ने हो भन्ने यकिन नहुँदा लगानीकर्ता अझै केही समय ‘पर्ख र हेर’को अवस्थामा बस्न सक्ने पनि बताइरहेका छन् । यस्तो दोधारको अवस्थामा सर्वसाधारण लगानीकर्ताले सबल कम्पनी छनोटमा ध्यान दिन सक्नुपर्छ । बजारमा आफ्नै रणनीति तय गर्न आवश्यक हुन्छ । यसो गर्न सकिएमा लाभ लिन सजिलो हुन सक्छ । 
 
यतिबेला वित्तीय  प्रणालीमा पर्याप्त तरलता रहेको छ । ब्याजदर पनि घटिरहेको छ । यसले सेयर बजारलाई सहयोग पुर्याउने विश्लेषण गर्न सकिन्छ । यो बेला सेयरको सिजन पनि हो । सामान्य हिसाबले पनि यो सेयर बजारमा चमक आउने बेला हो । नेप्से सूचक आइतबार ११.३० अंकले बढेर १३९२.६८ विन्दुमा आइपुगेको छ । १८७ कम्पनीको ९१ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ३० लाख ३० हजार ३३१ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १२९.५६ अंकले माथि लागेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ७.९२ अंकले विस्तार भएको छ । अजोड इन्सुरेन्स र साधना लघुवित्तका लगानीकर्ताले करिब १०% का दरले कमाएका छन् । गणपति माइक्रोफाइनान्सको भाउ सबैभन्दा धेरै ३.८५% ले घटेको छ । अजोड इन्सुरेन्सको सबैभन्दा धेरै ९ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्सुरेन्स पनि कारोबार रकममा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment