Market Closed

बैंकका कर्मचारीले घरबाटै काम गर्न पाउने, केन्द्रीय बैंकले जारी गर्यो यस्तो निर्देशन

09 Aug,2020
  • NRB__8_9_2020_5_50_18.jpg
नेपाली पैसा

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले अब आफ्ना कर्मचारीहरूलाई घरबाटै काम लगाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड १९ को जोखिम बढ्दै गएपछि ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाइ कार्य सम्पादन गराउन निर्देशन दिएको हो । सबै कर्मचारीलाई एकै पटक काममा नलगाउन पनि निर्देशन दिइएको छ । राष्ट्र बैंकले आइतबार एक निर्देशन जारी गर्दै आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउन भनेको छ । 
 
बैंकहरूले नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड समेत पालना गरी सेवा प्रवाहमा निरन्तरताका लागि ‘विजनेस कन्टिन्युटी प्लान’ तयार गर्नुपर्नेछ । कोभिड १९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनु पर्नेछ । प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँग समन्वय गर्नुपर्नेछ ।

सकेसम्म न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न पनि राष्ट्र बैंकले भनेको छ । वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु त्यही अनुसार सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । सेवा सुचारु नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा केन्द्रीय बैंकलाई जानकारी गराउन भनिएको छ । साथै, विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न समेत राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment