Market Closed

सेयर बजारमा सुधारको गतिले पायो निरन्तरता

24 Sep,2020
  • bull_nsears_9_24_2020_3_23_42.jpg
नेपाली पैसा 

काठमाडौं : सेयर बजारमा सुधारको गतिले निरन्तरता पाएको छ । सुस्त तर क्रमिक हिसाबले बजार माथि लागिरहेको छ । सूचक सुस्त हिसाबले मात्र वृद्धि भएकाले यतिबेला बजारले लगानीकर्तालाई पर्याप्त किन्ने अवसर दिएको छ । मन्द गतिले बजार बढेकाले यसले दिगो सुधारको संकेत गरिरहेको छ । बेस्सरी बढेको बजार सोही ढंगले तल झर्ने सम्भावना हुन्छ । तर अहिले नेप्से सुस्त ढंगले मात्र अघि बढेको छ । सोही कारण बजार क्रमशः माथि लाग्ने संकेतहरु देखिएका छन् । 
 
वित्तीय प्रणाली प्रचुर तरलता र यसका कारण घट्न गएको ब्याजदर नै सेयर बजार माथि जाने प्रमुख कारण हो । सेयर बजार र बैंक ब्याजदरबीच जहिले पनि विपरीत सम्बन्ध हुने गर्छ । ब्याजदर बढेका बेला बजर घट्ने गर्छ । किन भने बैंक निक्षेपमै पर्याप्त ब्याज पाइने भएपछि सुरक्षित लगानीको खोजी गर्दै सर्वसाधारण त्यसतर्फ आकर्षित हुन्छन् । अनि, कर्जाको ब्याजदर धेरै हुँदा ऋण लिने क्षमता घट्न जान्छ । 
 
यता, ब्याजदर घट्दा निक्षेपकर्ताहरु पनि सेयर बजारमा आकर्षित हुने गर्छन् । सस्तो ब्याजमा कर्जा पाइने भएकाले बैंकबाट ऋण लिएर सेयर किन्नेहरु पनि उत्साहित हुने गर्छन् । यसर्थ, अहिले ब्याजदर सस्तो भएकाले सेयर बजार क्रमशः माथि जाने अपेक्षा गर्न सकिन्छ । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञानले पनि वृहत्तर स्थान ओगटेको हुन्छ । बजार बढ्छ भन्ने आत्मविश्वास वृद्धि हुन सकेमा यसले पक्कै पनि सुधार गर्न सहयोग पुग्नेछ ।
 
सेयर बजारका लगानीकर्ताले कम्पनीहरुको वित्तीय अवस्था अध्ययन गर्नुपर्छ । नाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, रिजर्भ, भविष्यमा कम्पनीको प्रगति सम्भावना लगायतका पक्षमा पनि सुक्ष्म हिसाबले ख्याल गर्न सक्नुपर्छ । नेप्से सूचक ५.७४ अंकले बढेर १५६१.२७ विन्दुमा आइपुगेको छ । १९३ कम्पनीको २ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर खरिदबिक्री भएका छन् ।


१२ समूहको कारोबार भएकामा ६ वटा बढेका छन् भने ६ समूह तल झरेका छन् । डेढ दर्जन बढी कम्पनीको भाउ ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकममै दोस्रो स्थानमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

 

Post Your Comment