नेपाली पैसा
काठमाडौं : कोरोना संक्रमणका कारण यस वर्षको दशैं बिदामा ५ दिन बैंक बन्द हुने भएपछि सेवाग्राहीको भिड लागेको छ । कोभिड संक्रमण बढ्दै गएकाले नेपाल बैंकर्स संघले ५ दिन बैंक शाखाहरु बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार भोलि कात्तिक ७ गते फूलपातिदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुनेछन् ।

त्यसैले आज कात्तिक ६ गते अधिकांश बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको भिड लागेको छ । विगतका वर्षहरुमा दशैं तिहारको बिदामा पनि बैंकहरुले ग्राहकहरुलाई पैसा झिक्न तथा राख्न सजिलो होस भनेर मुख्य–मुख्य शाखा कार्यालयहरु निश्चित समयका लागि खोल्ने गरेका थिए ।तथापि, यस अवधिमा डिजिटल बैंकिङ सेवा र एटीएम भने सुचारु हुने बैंकहरुले जनाएका छन् ।
साथै, एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा पैसा नलाग्ने भएकाले ग्राहकहरुले आफ्नो पायक पर्ने ठाउँमा गएर पैसा झिक्न सकिने बैंकहरुको भनाइछ । डिजिटल प्रविधिबाट भुक्तानी गर्ने प्रणालीको विकास भएकाले पैसा बोकेर हिड्नुपर्ने झन्झट पनि अहिले छैन । तथापि, डिजिटल कारोबारमा सबै ग्राहक भने अभ्यस्त भइसकेका छैनन् ।