Market Closed

सेयर बजार नयाँ उचाईमा पुगेको दिन कति जनाले गरे कारोबार, के भन्छ नेप्से ?

27 Nov,2020
  • bullsas_11_27_2020_9_23_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालको पुँजी बजार इतिहासमै सर्वाधिक सेयर कारोबार भएको अनि नेप्से सूचकले रेकर्ड ब्रेक गरेको दिन बिहीबार कुल २३ हजार ५० जना लगानीकर्ता सेयर कारोबारमा सहभागी भएका छन् । यस दिन भएको कुल कारोबारमध्ये ८७.७५% अनलाइनमार्फत भएको नेप्सेले जानकारी दिएको छ । हालसम्म अनलाइन कारोबार गर्नका लागि १ लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् ।

सेयर कारोबारले रेकर्ड ब्रेक गर्नुमा अनलाइन प्रणाली (नट्स) को सबैभन्दा ठूलो भूमिका रहेको नेप्सेले दाबी गरेको छ । नेप्सेका अनुसार कारोबारको आकार वृद्धि हुनुमा नट्सको प्रत्यक्ष योगदान देखिन्छ । नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधिमार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयर कारोबार गर्न पाएका छन् भने रकम भुक्तानी तथा सेयर हस्तान्तरणमा प्रक्रियामा पनि सहजता आएको छ । 
 
बिहीबार कुल ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । समग्र सेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा हेर्दा यो नयाँ कीर्तिमान हो । यस अघि २०७७ मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, यसअघिको सर्वाधिक रेकर्ड २०७३ साउन १२ गते कायम भएको थियो ।

त्यतिबेला नेप्से सूचक १८८१.४५ बिन्दुमा पुगेको थियो । त्यही रेकर्ड अहिले तोडिएको हो । नेप्सेले २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको छ । यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेको भनाई छ ।

पुँजी बजार विकास तथा विस्तारका लागि नेप्सेले सञ्चालन गरेका गतिविधिमा अर्थ मन्त्रालय, धितोपत्र बोर्डको मागनिर्देशन प्राप्त भएको नेप्सेको भनाई छ । बिहीबार पुँजी बजार इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्से सूचकले झण्डै ४ वर्ष ४ महिनापछि फेरि आफ्नै अल टाइम हाइ रेकर्ड तोडेको हो । बिहीबार बजार १९२६.९२ विन्दुको नयाँ रेकर्ड बनाएर समान्य हिसाबले फर्किएको छ ।

नेप्से बिहीबार १८९३.२४ विन्दुमा बन्द भएको छ । यसअघि, नेप्सेले २०७३ साउन १२ गते १८८१ पुगेर त्यसअघि लगातार घट्दै १०९९ विन्दुसम्म आएको थियो । त्यसपछि विभिन्न समयमा उतारचढाव हुँदै गए पनि कोरोना भाइरसको रोकथामका लागि गरिएको लक डाउन खुला भएपछि बजार निरन्तर बढ्न सुरु गरेको हो । 
 
लक डाउन खुलेपछि पहिलो दिनको कारोबारमा (असार १५ गते) नेप्से सूचक ५.२३ अंकले घटेर ११९६.३५ विन्दुमा बन्द भएको थियो । त्यसपछि बजार निरन्तर बुलिस प्रवृत्तिमा रहँदै आएको छ । पछिल्लो समय कारोबार रकमले पनि नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको छ । खरिदबिक्री चाप पनि उच्च रहँदा लगानीकर्तामा थप उत्साह जगाएको छ । 
 

Post Your Comment