Market Closed

बचतको ब्याजदर बढाउने राष्ट्र बैंकको अस्त्र विफल : तरलता फालाफाल, झनै घट्न थाल्यो ब्याज

05 Jan,2021
  • interest_rate_1_5_2021_7_54_21.jpg
इशारा कोइराला 
 
काठमाडौं : बचत खाताको ब्याजदर बढाउने नेपाल राष्ट्र बैंकको अस्त्र विफल भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बचतको ब्याजदर बढाउन लिएको नीति विफल भएको हो । समीक्षामार्फत राष्ट्र बैंकले बचतको तल्लो सीमा र मुद्दति निक्षेपको माथिल्लो सीमाबीचको अन्तर ५% भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । बैंकहरूले मुद्दति निक्षेपमा धेरै र साधारण बचतमा कम मात्र ब्याज दिन थालेपछि हस्तक्षेप गर्न यस्तो व्यवस्था अघि सारिएको हो ।

यसको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर थप तल नझारुन् भन्ने पनि हो । तर, व्यवहारमा भने उल्टो प्रभाव देखिएको छ । किने भने केन्द्रीय बैंकको यो अस्त्र पछि बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको ब्याजदर अझै तल झारेका छन् । बचतको ब्याजदर माथि जाने कुनै सम्भावना नै देखिएको छैन । बरु निरन्तर घटिरहेको छ । केही महिना पहिलासम्म साधारण बचतमा ६.५% सम्म ब्याज दिँदै आएका बैंकहरु अहिले एकाएक घटाएर १.५% सम्म ल्याएपछि सर्वसाधारण निक्षेपकर्ता त्रसित बन्न पुगेका छन् ।
 
 यता, केन्द्रीय बैंकले प्रणालीमा अधिक तरलता हुँदा त्यसको व्यवस्थापनको उपाय नगरी खाली ब्याजदर मात्र बढाउन खोजेको आरोप बैंकरहरुले लगाउदैं आएका छन् । फलस्वरुपः बैंकहरु बचतको ब्याजदर बढाउने भन्दा मुद्दतिको ब्याजदर घटाएर झनै लागत कम गर्ने उपायमा लागेको एक बैंकरले बताए । विगतमा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा चलेको थियो । त्यसलाई नियन्त्रण गर्न बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेका थिए ।

त्यतिबेला तरलता अभाव हुँदा निक्षेपको ब्याजदर एउटा निश्चित विन्दुमा कायम राख्न भन्दै बैंकहरुले ‘क्याप’ लगाएका थिए । तर, अहिले अधिक तरलता भएको भन्दै निक्षेपकर्तालाई निरुत्साहित हुनेगरी निक्षेपको ब्याजदर घटाएका छन् । यतिबेला बचतकर्तालाई लाभ हुने गरी उनीहरुले कुनै सहमति गरेका छैनन् । न्यूनतम विन्दुबाट तल झार्न नदिन कुनै क्याप लगाइएको छैन । 
 
सामान्यतयः बचतको वास्तविक ब्याजदर सकारात्मक हुनुपर्ने मानिन्छ । अर्थात् निक्षेपकर्ताले पाउने ब्याजदर मुद्रास्फीति भन्दा माथि भयो भने त्यसले बचतकर्तालाई प्रोत्साहन गर्ने वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । अहिले नेपालको मुद्रास्फीति निकै न्यून विन्दुमा आएको छ । नेपाल राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने गएको असोज मसान्तको वार्षिक विन्दुगत मुद्रास्फीति (महँगी) ३.७९% छ ।

मुद्रास्फीति यति तल्लो विन्दुमा हुँदासमेत निक्षेपकर्ताले वास्तविक ब्याजदर बचतमा हुने गरी ब्याज नपाउने अवस्था आएको छ । केन्द्रीय बैंकले ब्याजदरलाई मुद्रास्फीतिसँग जोडेर नीति बनाएको भए उसको उद्देश्य पूरा हुनसक्ने जानकारहरु बताउँछन् । 
 
अहिले पनि अधिक तरलता
 
अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको पुस २० गतेसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा १७६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । यो बाहेक केन्द्रीय बैंकले अल्पकालका लागि विभिन्न औजारमार्फत हाल ६० अर्ब रुपैयाँ तरलता खिचेको प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । केन्द्रीय बैंकले खिचेको समेत हिसाब गर्दा बैंक तथा वित्तीय संस्थामा २३६ अर्ब रुपैयाँ तरलता रहेको देखिन्छ । 
 
राष्ट्र बैंकले छोटो समयका लागि बजारबाट पैसा तानेकाले यो परिपक्क हुने अवधि सकिएपछि फेरि प्रणालीमै फर्किनेछ । आउँदा दिनमा कर्जा माग व्यापक मात्रामा नबढे वित्तीय प्रणालीमा पुनः अधिक तरलता कायम हुने जानकारहरू बताउँछन् । लामो समयदेखिको अधिक तरलताका कारण बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलेको छ । जसका कारण निक्षेप र कर्जा दुवैको ब्याजदर अझै घट्ने उनीहरुको भनाई छ । 
 

Post Your Comment