Market Closed

भारतमा कोरोना खोपको तयारी, सुरुमा ३० करोडलाई लगाइने

11 Jan,2021
  • coronavirus-india-_1_11_2021_2_14_18.jpg
नयाँदिल्ली : भारतले कोरोना भाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई पनि लगाउन सुरु गरिने भएको छ । तथापि, सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड नागरिकलाई खोप दिने तयारी सुरु गरेको छ ।

भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब १ लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिमसहित अन्य आवश्यक जानकारी दिइएको छ । 
 
भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् ।
 
राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा यो कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए । भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुवै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ । 
 
सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ । कोरोना भाइरस संक्रमणबाट १ लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ । लाखौं व्यक्तिले रोजगारी गुमाएका छन् ।
 
हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए । सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १ हजार रुपैयाँ तोकिएको छ । 
 
रासस–एएफपी
 

Post Your Comment