नयाँ दिल्ली : कोरोना भाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई २ करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई २ करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । “भारतले आजको मितिसम्म २ करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ।
उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने १ करोड ६५ लाख खोप आर्थिक कारोबारसहित प्रदान गरिएको हो । माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए ।
भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ । भारतमा कोरोना भाइरस विरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरु मध्येमा पर्दछ ।
रासस–एएनआई