Market Closed

प्रख्यात लगानीकर्ता पिटर लिन्चको मन्त्र : पीइजी रेसियो हेरौं, ‘टेनब्यागर’ सेयर किनौं

20 Feb,2021
  • peter-lynch-quotes_2_20_2021_8_04_16.jpg
नेपाली पैसा
 
काठमाडौं : सन् १९४४ मा अमेरिकामा जन्मेका पिटर लिन्चलाई ‘म्युचुअल फन्डका रकस्टार’ का रुपमा चिनिन्छ । ‘म्यागेलन म्युचुअल फन्ड’ को पोर्टफोलियो व्यवस्थापनमा सफलता हासिल गरेपछि वाल स्ट्रिट जर्नलले लिन्चलाई म्युचुअल फन्डका रकस्टारको रुपमा चित्रण गरेको हो । पिटर लिन्चले केवल २२ वर्षको युवा उमेर (सन् १९६६) मा अमेरिकी वित्तीय सेवा प्रदायक संस्था ‘फिडालिटी इन्भेस्टमेन्ट्स’ मा प्रशिक्षार्थीको रूपमा काम सुरु गरेका थिए ।

पछि यही नै लिन्चका लागि फिडालिटी इन्भेस्टमेन्ट्समा प्रवेश गर्ने र स्टक मार्केटमा हात हाल्ने एक अवसर भयो । सन् १९६८ मा पिटर लिन्च फिडालिटीको अनुसन्धान विश्लेषक भएर काम गर्न थाले । यही अनुसन्धानको कामसँगै उनले लगानी पनि गर्न थालिसकेका थिए । २५ वर्षको उमेर हुँदा लिन्च वार्षिक १६ हजार अमेरिकी डलर आम्दानी गर्न थालिसकेका थिए ।

सन् १९७७ बाट उनी फिडालिटीको ‘म्यागेलन म्युचुअल फन्ड’ को पोर्टफोलियो व्यवस्थापन गर्न थाले । उनले १३ वर्षसम्म म्यागेलनमा पोर्टफोलियो व्यवस्थापनको काम गरे । उनले सुरु गर्दा यस फन्ड जम्मा १८ करोड डलर बराबरको थियो । १९९० मा म्यागेलन छाड्ने बेलामा लिन्चले त्यो फन्डको आकार झन्डै २ अर्ब डलर पुर्याएका थिए ।

फोब्र्सका अनुसार पिटर लिन्चको आफ्नो १३ बर्षे कार्यकालमा औषत वार्षिक लगानीमा प्रतिफल २९.२% थियो । यस अर्थमा हेर्दा उनले म्यागेलन सम्हाल्दा कसैले १ हजार डलर लगानी गरेको थियो भने उनले छोड्ने बेला त्यो २८ हजार डलर बराबरको बनाइदिएका थिए । लिन्चले जोन रोथचाइल्डसँग मिलेर ३ वटा पुस्तक पनि प्रकाशन गरेका छन् । उनको ‘वान अप अन वाल स्ट्रिट’ भन्ने पुस्तक लगानीकर्र्ताले पढ्नै पर्ने मानिन्छ । 

 
पिटर लिन्चका ३ लगानी सिद्धान्त 
 
मेगालेन फन्ड सञ्चालन गर्दा लिन्चको ट्रयाक रेकर्डले धेरैको ध्यान खिचेपछि उनले लगानी सम्बन्धी विभिन्न पुस्तकहरु लेखे । ती पुस्तकहरुमा उनले आफ्नो लगानी मन्त्रको रुपरेखा प्रस्तुत गरेका छन् । तर उनको लगानी सिद्धान्तलाई ३ वटा मुख्य सिद्धान्तका रुपमा संक्षेपमा व्याख्या गर्न सकिन्छ ।
 
१. आफूले बुझेको क्षेत्रको मात्र सेयर खरिद गर्ने  
 
लिन्चका अनुसार सेयर बजार विश्लेषण गर्ने सबैभन्दा ठूलो साधन हाम्रा आँखा, कान र व्यावहारिक ज्ञान नै हुन् । लिन्च आफू पनि कतिपय स्टकका आइडिया बाटो हिँड्दाहिँड्दै वा साथीभाईसँग कुरा गर्दागर्दै  फुरेकोमा गर्व गर्छन् । त्यसैले उनी आफूले बुझेको क्षेत्रमा मात्र लगानी गर्नुपर्नेमा जोड दिन्छन् । टिभी हेर्दाहेर्दै, रेडियो सुन्दासुन्दै वा अखबार पढ्दापढ्दै पनि विश्लेषण गर्न सकिन्छ । यी सबै सूचनाका साधनहरु हुन् जसबाट बजार विश्लेषण गर्न र लगानी आइडिया पाउन मद्दत पुग्छ । 
 
२. सँधै आफ्नो गृहकार्य गर्ने 
 
पहिलो पटकको निरीक्षण र प्रमाण निकै उपयोगी हुन सक्छन् तर तिनलाई थप अध्ययन र अनुसन्धान पनि गरिरहनुपर्छ । लिन्चका अनुसार सेयर खरिदयोग्य हुनका लागि विभिन्न आधारभूत विषयहरुमा तादम्यता मिल्नुपर्छ । 
 
निम्न विषयमा गृहकार्य गर्नुपर्ने लिन्चको भनाई छ । 
 
–बिक्री प्रतिशत 

यदि कुनै कम्पनीको वस्तु वा सेवाले तपाईंलाई आकर्षित गर्छ भने उक्त वस्तु वा सेवाको बिक्री प्रतिशत पर्याप्त छ कि छैन, त्यो पनि सुनिश्चित गर्नुपर्छ । अझ सजिलोसँग भन्दा त्यसमा नाफा वा मार्जिन निकै बढी हुनुपर्छ । अनि, कनुै पनि वस्तु राम्रो छ, उत्पादन पनि राम्रो छ तर बिक्री प्रतिशत कम छ भने त्यसले खासै राम्रो नतिजा ल्याउन सक्दैन । लिन्चले सेयर छनोट गर्दा यस विषयमा पनि ध्यान दिने गरेका छन् ।
 
–मूल्य–आम्दानी–वृद्धि अनुपात (पीइजी रेसियो) 

बजारमा कुनै पनि कम्पनीको सेयर भाउमाथि कति आशा राखिएको छ भन्ने हेर्न आम्दानी वृद्धिदर हेर्नुपर्ने लिन्चको भनाई छ । राम्रो आम्दानी वृद्धिदर र त्यस अनुपातमा सकेसम्म कम भाउ भएका कम्पनीको खोजी गर्नुपर्छ । त्यस्तै, मूल्य आम्दानी अनुपात पनि सकेसम्म कम भएका कम्पनीहरु खोज्न आवश्यक छ । मूल्य आम्दानी अनुपातसँगै उक्त कम्पनीले भविष्यमा गर्न सक्ने ग्रोथलाई पनि सँगै जोडेर हेर्नुपर्ने उनको मान्यता ।

यसर्थ, व्यवहारमा लगानीकर्ताहरुले कहिलेकाँही तुलनात्मकरुपमा बढी पीई भएका कम्पनीहरु पनि निकै ग्रोथको सम्भावना छ भन्ने खरिद गर्ने गरेको पाइन्छ । त्यसको कारण यही पीइजी रेसिसो कै कारण हो । 
 
–नगद स्थिति मजबुत भएका र ऋण अनुपात (डेब्ट टु इक्विटी–डीइ) रेसियो औषत भन्दा कम भएका कम्पनीलाइ चुन्ने 
 
मजबुत नगद प्रवाह र सावधानीपूर्वक सम्पतिको व्यवस्थापन गर्ने कम्पनीले सबैखाले बजारमा राम्रो प्रदर्शन गर्न सक्ने भएकाले त्यस्ता कम्पनी लिन्चको विशेष रोजाईमा पर्ने गरेका छन् । अधिक ऋणमा सञ्चालन भएका कम्पनीमा जोखिम बढ्ने सम्भावना रहन्छ । त्यसैले, सकेसम्म लगानीकर्ताको इक्विटीमा र कम भन्दा कम ऋणमा सञ्चालन भएका कम्पनीमा लगानी गर्न आवश्यक छ ।

 
३. दीर्घकालीन लगानी गर्ने 

छोटो समयको बजार उतारचढावका आधारमा लगानी सम्बन्धी भविष्यवाणी गर्न खोज्नु वा निर्णय लिनु लाभदायी हुँदैन । सकेसम्म दीर्घकालीन लगानी गर्नुपर्छ । नियमित कारोबार गर्नेले समेत केही हिस्सा दीर्घकालीन लगानीका लागि छुट्याउन आवश्यक हुन्छ ।

लिन्चले १० गुणासम्म भाउ बढ्न सक्ने स्टकलाई ‘टेनब्यागर’ भन्ने गरेका छन् । र, १० गुणाले सेयरको भाउ बढ्नका लागि छोटो समय पर्याप्त हुँदैन । त्यसैले, दीर्घकालका लागि लगानी गर्न महत्वपूर्ण हुन जान्छ । दीर्घकालीन लगानीकर्ताले नै सेयर बजारको दौड जित्ने पिटरको प्रमुख मान्यता रहेको छ । 
 

Post Your Comment