नेपाल हाइड्रोको आइपीओ १ लाख ७४ हजारले भरे, ३६ हजार २७० जनाले मात्र सेयर पाउने

17 Aug,2017
  • IPO_8_17_2017_12_44_21.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल हाइड्रो डेभलपरको आइपीओमा १ अर्ब ५० करोड रुपैयाँको आवेदन परेको छ । यसमा कुल १ लाख ७४ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । हाइड्रोले कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये कम्पनीले ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ । यसआधारमा, सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ६२ हजार ७०० कित्ता सेयर न्यूनतम १० कित्ताको दरले बाँडफाँट गर्दा ३६ हजार २७० जना आवेदकले मात्र पाउने एनमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताएका छन् । धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न पाइन्छ ।

नेपाल हाइड्रोमा पनि अवेदकको संख्या अत्यन्तै धेरै भएकाले सबैलाई गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसरी, गोलाप्रथाबाट बाँडफाँट गर्दा कुल आवेदक मध्ये २०.८४% ले मात्र सेयर पाउने भएका छन् । आइपीओको बाँडफाँट १ महिना भित्र गरिसक्ने घिमिरेले जानकारी गराएका छन् । नेपाल हाइड्रोले साउन २७ देखि ३२ गतेसम्म आइपीओ बिक्री गरेको हो । यस हाइड्रोपावरमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, कुमुद दुगड, देव किसन मुन्दडालगायतका व्यक्तिहरु सञ्चालक रहेका छन् । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको हो । कम्पनीले दोलखा जिल्लामा ३.५२ मेगावाटको चर्नावती हाइड्रोपावर सञ्चालन गर्दै आएको छ ।

Post Your Comment