Market Closed

मेख बहादुर थापाको विश्लेषण : पुँजी बजार निरन्तर घट्नुपर्ने कारण छैन (हेर्नुहोस् भिडियो वार्ता)

05 Oct,2018
  • 12_10_5_2018_8_11_43.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपालको पुँजी बजारमा मेख बहादुर थापाले करिब १२ वर्षको अनुभव हासिल गरिसकेका छन् । नेपाल धितोपत्र बोर्डको उप–निर्देशकको जागिरबाट पुँजी बजार सम्बन्धी काम सुरु गरेका थापा अहिले एनआइबीएल एस क्यापिटलको महाप्रबन्धक छन् । नेपालमा म्युचुअल फन्ड भित्र्याउन उनले उल्लेख्य योगदान पुर्याएका छन् । धितोपत्र बोर्डमा रहँदै सामूहिक लगानी कोष नियमावली बनाउन पनि आफ्नो योगदान रहेको थापा बताउँछन् ।
 
पुँजी बजार नियामक धितोपत्र बोर्डको जागिर छाडेर थापाले सिद्धार्थ बैंकमा काम थाले । सिद्धार्थ बैंक अन्तर्गत सिद्धार्थ क्यापिटल स्थापना गरी सिद्धार्थ म्युचुअल फन्ड पनि सुरु गरे । नेपालको पुँजी बजार इतिहासमै पहिलो पटक सिद्धार्थ म्युचुअल फन्डले २ वटा योजना सुरु गर्यो । उनी सहितको नेतृत्वमा सुरु भएको म्युचुअल फन्डमध्ये सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम परिपक्क भइसकेको छ । पुँजी बजारमा अन्य म्युचुल फन्ड पनि थपिएर अहिले १३ वटा पुगेका छन् । 
 
उनी एनआइबीएल एसमा आएको ४ वर्ष बितिसकेको छ । यस अवधिमा ५ वटा प्रदेशमा एनआइबीएल एस क्यापिटलको शाखा पुर्याएका थापाले आगामी दिनमा ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बाउँछन् । अहिले बन्दमुखी म्युचुअल फन्डहरु मात्र सञ्चालनमा रहेकामा अब खुला म्युचुअल फन्डका योजना ल्याउने र त्यसमा पनि अग्रणी बन्ने रणनीति बनाएका छन् ।
 
अहिले निरन्तर पुँजी बजार घटिरहेको छ । बजार घटबढ हुनु स्वभाविक प्रक्रिया भए पनि निरन्तर तल झर्नुपर्ने कारण भने नभएको उनको ठम्याईं छ । तरलता अभाव, चर्को बैंक ब्याजदर र ओभर सप्लाई नै बजार घट्नुको प्रमुख कारण रहेको उनी बताउँछन् । सरकारी नीतिले पनि बजार घट्न केही भूमिका निर्वाह गरेको उनले बताए । हकप्रद र बोनस सेयरमा कर विवाद, सरकारका जिम्मेवार पदाधिकारीबाट बेलाबखत आउने गरेका विभिन्न बजार प्रतिकूल अभिव्यक्ति लगायतले पनि बजारमा नकारात्मक असर पार्दै आएको उनको भनाई छ । 
 
पुँजी बजारले विस्तारै बटम बनाउँदै गरेको छ । तर अझै केही उतारचढाव आउन सक्ने सम्भावना पनि रहेको थापाको विश्लेषण छ । बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । ब्याजदरको विषय पनि अझै निर्कोलमा पुगेको छैन । यसर्थ, बजार सकारात्मक गतितर्फ अघि बढिरहँदा पनि उतारचढावको सम्भावना भने उत्तिकै  रहेको उनी बताउँछन् ।
 
बजार अब विस्तारै सकारात्मक गतिमा अघि बढ्नेमा थापा आशावादी छन् । निकट भविष्यमै आउन लागेको अनलाइन प्रणाली लगायतले बजार प्रविधिमैत्री हुँदै गएको र यो सकारात्मक पाटो भएको उनको धारणा छ ।
 
पुँजी बजारको वर्तमान अवस्था र भविष्यमा सुधारका लागि गर्नुपर्ने काम, म्युचुअल फन्डका योजना लगायत विषयमा केन्द्रित रहेर थापासँग नेपाली पैसाले गरेको कुराकानीको भिडियो वार्ता यहाँ प्रस्तुत गरिएको छ । हेर्नुहोस् वार्ताको विवरण ।

 

Post Your Comment