Market Closed

म्युचुअल फन्डको पैसा सेयर बजारमा छ कि बैंकमा ?

02 Oct,2019
  • mutual_10_4_2019_12_27_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : १७ म्युचुअल फन्डले भदौ मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश फन्डको प्रतिइकाई खुद सम्पति घटेको छ । त्यस्तै, बैंक मौज्दात र सूचिकृत सेयरमा लगानी पनि घटेको छ । लामो समयसम्म सेयर बजार ओरालो लागेकाले त्यसको प्रत्यक्ष असर म्युचुअल फन्डमा देखिएको हो । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् । लगानी गरेका कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएकाले फन्डहरुको खुद सम्पति मूल्यमा पनि गिरावट आएको हो ।

तथ्यांकहरु हेर्दा म्युचुअल फन्डहरुले बजार घटेका बेलामा पनि अपेक्षा अनुसार सेयर बजारमा लगानी गरेको देखिंदैन । सेयर बजारमा लगानी गर्नु यस्ता फन्डहरुको प्रमुख दायित्व हो । लगानाी जोखिम अध्ययन गरेर सबल कम्पनीहरुमा फन्डहरुले लगानी गर्दा पुँजी बजार चलायमान बनाउ सजिलो हुन्छ । सोही मर्म अनुसार म्युचुअल फन्डहरुलाई आरक्षण दिइएको हो । आइपीओमा आरक्षण, कर छुट लगायतका सुविधा दिइए पनि व्यवहारमा फन्डहरुले सेयर बजार सुधार्न पहल गरेको देखिंदैन । 
 
१४ फन्डको न्याभ घट्यो, बढाउनेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १
 
साउनको तुलनामा भदौ महिनामा १४ म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । यस अवधिमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को मात्र प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । यसको प्रतिइकाई खुद सम्पति मूल्य २ पैसाले बढेर १० रुपैयाँ ५३ पैसा पुगेको छ ।



यता, एनएमबि ५० र सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्कीम–२ भने भदौ महिनादेखि सञ्चालनमा आएकाले अघिल्लो महिनाको प्रतिइकाई खुद सम्पति मूल्य विवरणमा समावेश छैन । 
 
सूचीकृत सेयरमा लगानी पनि धेरैको घट्यो, कसको कति ?
 
भदौ मसान्तसम्म अधिकांश फन्डहरुले सूचीकृत सेयरमा लगानी घटेको छ । १७ म्युचुअल फन्डमध्ये ११ वटाको सेयर लगानी अघिल्लो महिनाको भन्दा घटेको हो । सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत योजनाको लगानी ६ करोड ६७ लाख ३२ हजार रुपैयाँले कम भएको छ ।



नबिल ब्यालेन्स फन्ड २, एनआइबीएल सहभागिता फन्ड र सिटिजन्स म्युचुअल फन्ड १ को सेयर लगानी भने बढेको छ । यस्तै, एनएमबि ५० र सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्कीम २ भने अघिल्लो महिनाको विवरण उपलब्ध छैन ।
 
बैंक मौज्दात कति ?
 
भदौ मसान्तमा ५ वटा म्युचुअल फन्डले बैंक मौज्दात बढाएका छन् । यस्तै, १० वटाको बैंक मौज्दात घटेको छ । यस अवधिमा सबैभन्दा धेरै बैंक मौज्दात एनएमबि ५० को रहेको छ ।



नयाँ म्युचुअल फन्ड भएकाले अधिकांश रकम बैंक मौज्दातको रुपमा थन्किएको देखिन्छ । यस फन्डको बैंक मौज्दात १ अर्ब १९ करोड ९५ लाख ११ हजार रुपैयाँ रहेको छ ।

Post Your Comment