Market Closed

एनआइबीएल एसद्वारा व्यवस्थित ३ वटा म्युचुअल फन्डमा कुनको अवस्था कस्तो ?

31 Oct,2019
  • mutual_10_4_2019_12_27_24.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन वटै म्युचुअल फन्डहरुले असोज महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य असोज महिनामा ४ पैसाले घटेर ७ रुपैयाँ ६३ पैसामा आइपुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ७ रुपैयाँ ६७ पैसा रहेको थियो ।
 
यो फन्डको सूचीकृत सेयरमा लगानी भने ६३ लाख ८८ हजार रुपैयाँले घटेर ५१ करोड ८७ लाख १३ हजार रुपैयाँ पुगेको छ । प्रगति फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ८० वटा कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ७२ हजार २७१ कित्ता सेयरमा लगानी गरेको छ । यसको बैंक मौज्दातमा ५ करोड २४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
 
यता, एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य पनि असोज मसान्तमा ६५ पैसाले घटेर ९ रुपैयाँ ४४ पैसा कायम भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ९ पैसा थियो । यसले ९० वटा सूचीकृत कम्पनीमा ६७ करोड ८५ लाख ७० हजार रुपैयाँ लगानी गरेको छ ।
 
अघिल्लो महिनाको तुलनामा यसको सेयर लगानी रकम १ करोड १२ लाख ७९ हजार रुपैयाँले थोरै हो । यस फन्डले मुद्दति निक्षेपमा १० करोड रुपैयाँ राखेको छ । बैंक मौज्दातमा भने १३ करोड ६४ लाख ५० हजार रुपैयाँ रहेको छ । समृद्धि फन्डले सबैभन्दा धेरै प्रभु बैंकको १ लाख २ हजार ९९९ कित्ता सेयर होल्ड गरेको छ ।
 
यस्तै, एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद सम्पति मूल्य भने असोज मसान्तसम्म आइपुग्दा ४ पैसाले बढेर ९ रुपैयाँ ९२ पैसा पुगेको छ । एनआइबीएल एसले पहिलो पटक सहभागिता फन्डलाई खुलामुखी म्युचुअल फन्डका रुपमा बिक्री गरेको हो । असोज मसान्तसम्म यसले ४ करोड ६१ लाख ५५ हजार रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यो रकम गत महिनाको भन्दा ८५ लाख ९ हजार रुपैयाँले धेरै हो । 
 
त्यस्तै, यसको बैंक मौज्दात १३ करोड ४९ लाख ३९ हजार रुपैयाँ रहेको छ । फन्डले मुद्दति निक्षेपमा २ करोड रुपैयाँ राखेको छ । यस अवधिसम्म आइपुग्दा फन्डले ३३ कम्पनीमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी वाणिज्य बैंक समूहमा रहेको छ । यसले ११ वाणिज्य बैंकमा २ करोड ५ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ । फन्डले सबैभन्दा धेरै कित्ता प्रभु बैंकको होल्ड गरेको छ । फन्डले प्रभु बैंकको १३ हजार कित्ता होल्ड गरेको छ ।

Post Your Comment